- प्रकाश अधिकारी / तनहुँ
जनतालाई लोकतन्त्र र प्रजातन्त्र ल्याएर बोल्ने बनाउने काम सजिलो थिएन। मेरो दृष्टिमा, शेरबहादुर देउवा केवल एक राजनीतिज्ञ होइनन्। उनी हाम्रो देशको संघर्षको जीवित चित्र हुन्। गाउँका साँघुरो गल्लीदेखि सिंहदरबारसम्मको यात्रा तय गर्दै आएका उनी-हरेक पाइला संघर्ष, असफलता र आलोचनाको साथ-तर कहिल्यै थाकेका छैनन्।
नेपालमा राजनीति कहिल्यै सजिलो थिएन। अस्थिरता, विद्रोह, अनि कठिन निर्णयका घडीहरू निरन्तर आइरहन्थे। त्यस्ता समयमा देउवा बारम्बार जिम्मेवारीको बोझ उठाउँदै अगाडि बढे। कसैले अवसरवादी भन्ला, कसैले कमजोर भन्ला, तर म भन्छु-त्यो साहस, धैर्य र देशप्रेम, जुन उनले प्रत्येक कठिन घडीमा देखाए, असाधारण छ।

उनको यात्रा सधैं आलोचनाले घेरिएको थियो। पार्टीभित्रको गुटबन्दी, विपक्षीको प्रश्न, जनताको असन्तुष्टि-यी सबै बोझ उनी सहनुपर्थ्यो। तर यी आलोचना मात्र होइनन्, यी त उनको मानवताको प्रमाण हुन्। उनी पनि मान्छे हुन्, तर नेपाली जनताको भविष्यका लागि बारम्बार आफ्ना आरामलाई त्यागिरहेका व्यक्ति हुन्।
शान्ति प्रक्रिया, लोकतन्त्रको रक्षा, संवैधानिक अस्थिरताका चुनौती-यी सबै मोडमा उनी अघि थिए। त्यो साहस, त्यो लगन कहिल्यै देखिदैन, तर महसुस गर्न सकिन्छ। जब देशले संकट भोगिरहेको थियो, उनी त्यहाँ थिए-निरन्तरता र जिम्मेवारीको प्रतिक।
मलाई लाग्छ, शेरबहादुर देउवा ‘खराब’ भनेर मात्र हेर्ने दृष्टि अन्याय हो। उनी हाम्रो इतिहासको एक अनुभूति हुन्, जसले हामीलाई सिकाउँछन्-कसरी संघर्ष, असफलता, आलोचना र आलोचकको सामना गरेर पनि अघि बढिरहन सकिन्छ।

मैले उनलाई केवल नेता मात्र भन्दिन।उनी सहिष्णुता, करुणा, र निरन्तरताको प्रतीक हुन्। उनी नेपाली जनताको सपना र संघर्षको जीवित स्मारक हुन्। जब म सोच्छु, मनमा आदर र भावुकता मिसिन्छ-किनकि उनी हाम्रो देशको इतिहासको एउटा अमिट अध्याय हुन्।
तर अन्त्यमा, हामीले बुझ्नै पर्छ: लोकतन्त्रले जनतालाई बोल्ने अधिकार दिन्छ, तर त्यसको सुरक्षा र सम्मान हाम्रो जिम्मेवारी हो। जेनजी आन्दोलन, प्रदर्शन र आवाज उठाउने स्वतन्त्रता लोकतन्त्रकै फल हुन्। तर यदि प्रदर्शनमा कुटपिट वा दमन हुन्छ भने त्यो लोकतन्त्रको पूर्णता होइन। लोकतन्त्र तब मात्र फलदायी हुन्छ, जब जनताको अधिकार सुरक्षित, स्वतन्त्र र शान्तिपूर्ण रूपमा अभ्यास हुन्छ।
शेरबहादुर देउवा र उनी जस्ता नेताहरूले यही लोकतन्त्रको सुरक्षा र निरन्तरताका लागि संघर्ष गर्दै आएका हुन्। यही कारणले, उनी केवल नेता होइनन्-संघर्षशील नेपालीको प्रतीक र लोकतन्त्रको जीवित स्मारक हुन्। शेरबहादुर देउवा नेपाली राजनीतिमा लामो समयदेखि उपस्थित नेता हुन्। उहाँबारे मानिसहरूले आलोचना पनि गर्छन्, समर्थन पनि गर्छन्। तर “जनताले छिछि गर्नुपर्ने मात्र नेता” भन्नु भने पक्कै न्यायोचित हुँदैन।

राजनीतिमा दशौं वर्ष सक्रिय हुँदा कमजोरी, विवाद र प्रश्न उठ्नु स्वाभाविक हो। तर त्यहीबीच उहाँले लोकतन्त्रको पुनःस्थापना, शान्ति प्रक्रियामा भूमिका, संवैधानिक चुनौतीका बेला निरन्तरता दिने जिम्मेवारी पनि बोक्नुभएको छ। यी योगदानलाई बेवास्ता गरेर केवल नकारात्मक दृष्टिले हेर्नु अपूर्ण मूल्याङ्कन हुन्छ।
जहाँसम्म घरमा भेटिएको पैसाको प्रसङ्ग छ-त्यो विषयमा स्वास्थ्य सुधारपछि उहाँ वा पार्टीले आधिकारिक रूपमा स्पष्टीकरण पक्कै दिने नै देखिन्छ। किनभने यस्ता संवेदनशील मुद्दा लामो समयसम्म अनुत्तरित रहँदैनन्। त्यस्तो स्पष्टीकरण आउनासाथ मात्र जनतालाई पूर्ण सत्य थाहा हुन्छ।उनी पनि लोकतान्त्रिक पार्टी र प्रजातान्त्रिक पद्वतिबाट निर्वाचित सभापति हुन्।बाँकी दिनमा राष्ट्र,जनता र पार्टीको बारेमा फरक तवरले सायद पक्कै अगाडि बढ्नेछ भन्नेमा म विश्वस्त छु।














