पोखरा, जेनजी पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका गण्डकी प्रदेश सरकारको मातहतका पोखरास्थित बिभिन्न कार्यालयहरुको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निरिक्षण गरेका छन। आन्दोलनको बेला पाण्डे अन्य केहिसंगै दुबईको भ्रमणमा थिए। मुख्यमन्त्री पाण्डे पोखरा फर्किएपछि मंगलवार खण्डहरमा परिणत भएका सरकारी कार्यालयको अनुगमन एबम निरिक्षणमा निस्किएका हुन।

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरीक्षणपछि उनी गण्डकी प्रदेश सभामा पुगेर निरिक्षण गरेका थिए । आन्दोलनकारीले त्यहाँ रहेका भवनसँगै अन्य संरचना, दुईपांग्रे र चारपांग्रे सवारी साधन, कम्प्युटर, ल्यापटक, प्रिन्टर, भिडियो क्यामेरा, क्यामेरा, टेलिभिजन, स्मार्टबोर्ड, कुर्सी, टेबुल, दराज, सोफा लगायतका सामग्री तोडफोड र आगजनी गरेका थिए ।
प्रदेशसभा भवन हेरेपछि उनि कास्कीको जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयको साथै अन्य सरकारी संरचनाको निरीक्षण गरेका थिए । उनले बुधबार पनि केहि कार्यालयको अनुगमन गरेका थिए प्रदेश सरकार मातहतका मन्त्रालय, निवास, गण्डकी विश्वविद्यालय, लोकसेवा आयोग, प्रदेश प्रमुखको कार्यालय, सभामुख र उपसभामुखको निवास, मन्त्रीहरूको आवास लगायतका स्थानमा पुगेर मुख्यमन्त्री सहितको टोलीले क्षतिग्रस्त संरचनाको प्रत्यक्ष अवलोकन गरेको एक सरकारी अधिकारीले जानकारी दिए ।

भदौ २४ गते भएको तोडफोड र आगजनीबाट गण्डकी प्रदेशभित्रका कयौँ संरचना ध्वस्त बनेका छन् । क्षति पुगेका सरकारी कार्यालयबाट अधिकांश सामग्री चोरी भएको देखिएको छ । भौतिक संरचना, सवारीसाधन, फर्निचर र उपकरणमा मात्र पनि प्रदेश सरकारले अरबौँको क्षति ब्यहोर्नुपरेको अबस्था सृजना भएको छ ।
त्यसक्रममा उनले कार्यालयहरुले सेवा प्रवाह गर्न सक्ने अवस्था तयार गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए। उनले यसअघि मर्ज तथा कर्मचारी दरबन्दी कटौती मार्फत मितव्ययी बनेको गण्डकी प्रदेशले सोही अनुसार योजना बनाउन मन्त्रालयका सचिव, निकाय तथा कार्यालय प्रमुखलाई निर्देशन दिएको बताइएको छ ।














