पोखरा, गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी पुस्ताको नामबाट भएको आन्दोलनका क्रममा सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटिएका हतियारहरु तत्काल फिर्ता गर्न आह्वान गर्ने निर्णय गरेको छ। समयमै हतियार फिर्ता नगर्नेलाई विषयगत अपराधको रूपमा कानुन बमोजिम कारबाही प्रक्रियामा लैजाने निर्णय समेत बैठकले गरेको छ ।
आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र आ-आफ्ना मातहत सुरक्षा निकायलाई निर्देशन गर्ने निर्णय बैठकले गरेको छ। प्रदेशमा शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायले सजगताका साथ समन्वयात्मक ढंगले कार्य गर्ने, गराउने निर्णय पनि बैठकले गरेको छ।
बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको बुझिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा मंगलवार उक्त समितिको बैठक बसेको थियो।















