बिराटनगर, जेन–जी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा विराटनगरस्थित ऐतिहासिक कोइराला निवास जलेर खरानी भएको छ। पछिल्लो समय नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको निवास मानिने यस घरलाई अराजक समूहले लक्षित गरेर आगजनी गर्दा नेपालको लोकतान्त्रिक आन्दोलनको एक महत्वपूर्ण धरोहर नै नष्ट भएको हो।

कृष्णप्रसाद कोइरालाले निर्माण गरेको १२० वर्षभन्दा पुरानो उक्त घरमाराणा शासन फाल्नेदेखि राजा हटाउने आन्दोलन सम्मका साक्षीहरु बस्दै आएका थिए । यही घरमा मुलुकका तीनजना प्रधानमन्त्रीहरु मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद (बीपी) कोइराला र गिरिजाप्रसाद कोइराला जन्मिनुको साथै हुर्किएका थिए। नेपाली कांग्रेसको नीति र सिद्दान्त मान्ने कार्यकर्ताहरूका लागि कोइराला निवास ‘तीर्थस्थल’ सरहको ठाउँ मानिन्थ्यो।
कांग्रेस नेतृ विजयता अधिकारीले घर जल्दै गरेको दृश्य आँखा अगाडि देखे पनि केही गर्न नसकेको बताइन्। “यो हाम्रो राष्ट्रको धरोहर थियो। आँखै अगाडि जल्यो, तर प्रहरी र दमकल समयमै आएनन्,” उनले भनिन्। त्यस्तै, विराटनगर महानगरपालिकाकी पूर्व उपमेयर इन्दिरा कार्कीले कोइराला निवासलाई ‘मन्दिर सरहको स्थल’ अराजक समुहले नष्ट गरेको भन्दै गहिरो दुःख व्यक्त गरिन्।
कोइराला परिवारमा अंशबन्डापछि यो घर डा. शेखर कोइरालाको भागमा परेको थियो। उनले पुनर्निर्माण प्रक्रिया सुरु गरिसकेका छन्। गिरिजाप्रसाद कोइरालाले थपेको संरचनाको मर्मत र पुनर्निर्माणका लागि कामदार खटाइएको छ।
राजनीतिक चेतना र आन्दोलनको केन्द्र बनेको यो निवास जलेपछि कांग्रेस भित्र मात्र होइन, देशभरैको लोकतान्त्रिक इतिहासप्रेमीहरू स्तब्ध बनेका छन्। यस घटनाले नेपाली राजनीति र इतिहाससँग जोडिएका भौतिक सम्पदा सुरक्षित गर्ने सवाललाई फेरि एकपटक गम्भीर ढंगले सतहमा ल्याइदिएको छ।
कसरी जल्यो कोइराला निवास ?
जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते दिउँसो विराटनगरस्थित कोइराला निवासमा सधैँजस्तै महानगरका एकजना सुरक्षाकर्मी र एक युवक सुरक्षार्थ तैनाथ थिए । बाहिरको हल्लाखल्लाले उनीहरुलाई हल्का डर लागेकै थियो । दिउँसो २ बजेतिर १०–१५ जनाको हुल कोइराला निवास आयो । ढुंगामुढा गर्यो र फर्कियो । सुरक्षामा बसेका उनीहरुलाई लाग्यो अब संकट टर्यो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक नेतृत्व गरेका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समेत बसेको कोइराला निवास केही मिनेटमै आगो दन्कियो । आगोको ज्वालाले काठको घर क्षणभरमै भष्म भयो । काठको घरदेखि उत्तर र दक्षिणमा रहेका दुईवटा पक्की घरपनि क्षतिग्रस्त बने । भित्र राखेका सामानहरु लुटपाट गरियो । कतिपय सामानहरु आँगनमा ल्याएर जलाइए ।

प्रजातन्त्रवादीहरुको ‘तीर्थस्थल’ मानिने कोइराला निवास जलेको खबरले धेरैलाई नरमाइलो लाग्नु स्वाभाविक नै हो । अहिले कोइराला निवासमा जलेको मालवस्तुको टुक्रा र खरानीहरु पन्छाउने काम भएको छ । सरसफाइ भइरहेको छ । कांग्रेसका कतिपय कार्याकर्ताहरु आउँछन्, दुःखी हुँदै फर्किन्छन् ।
कोइराला निवासमा भेटिएकी कांग्रेस कार्यकर्ता मीना विश्वास इतिहास बोकेको भवन र संरचनाहरु ध्वस्त भएको हेरेर निराश भइन् । उनले भनिन्, ‘हाम्रो इतिहासलाई नामेट गर्न खोजियो । विना कारण आगो लगाइयो ।’
आन्दोलनकारीले गिरिजाप्रसाद कोइरालाले चढेको ऐतिहासिक पुरानो गाडी पनि जलाइदिएका छन् । निवासमै पालिएको एउटा गाई समेत आन्दोलनकारीले लगेका छन् । अहिले उक्त निवासमा कांग्रेस नेता डा. शेखर कोइराला बस्दै आएका थिए । केही समययता कोइराला विराटनगर आएका थिएनन् । काठको घर, टिनको छानो र बाँसका भित्तामा माटो लेपन गरिएको एक सय वर्षभन्दा पुरानो घरलाई जोगाउन डा. शेखर कोइरालाले निकै मेहनत गरेको चर्चा हुन्छ ।
कोइराला निवास जल्नुमा व्यक्तिगत रिसिइबी जस्तो देखिएको कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू बताउँछन् । ‘यो त अब व्यक्तिगत रिसिइबीको कारणले गर्दा जलाएको जस्तो देखिन्छ । कोइराला निवास भनेको लोकतन्त्रवादीहरूको आस्थाको धरोहर हो । यो कुनै कांग्रेसको मात्रै होइन,’ उनले भने, ‘यहाँ रिसिइबी साध्ने हिसाबले घुसपैठियाहरूले ठुलो नोक्सानी गरेको छ । यो निन्दनीय छ ।’ उनले आगजनीमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरे ।
कोइराला निवासको एउटा घर राणाकालमै बनेको थियो । ‘राणासँग जुधेर, राणासँग लड्दा पनि बचेको घर हो त्यो । त्यो सबैले सेल्टर लिने घर थियो । विभिन्न प्रजातान्त्रिक आन्दोलनको लडाइँमा दुःख पाएका मान्छेहरू, टुहुरा बालबालिकाहरूको रेखदेख गर्ने, हुर्काउने, बढाउने काम पनि त्यहाँबाट हुन्थ्यो । आज ध्वस्त गरिएको छ यो एकदम निन्दनीय कार्य भएको छ,’ लिम्बूले भने ।
कोइराला निवासमै तीन पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको बाल्यकाल बितेको थियो । मुलुकका लागि धेरै प्रधानमन्त्री जन्माउने घरका रुपमा कोइराला निवासलाई लिइने गरिन्छ ।
राणा शासकबाट विस्थापित कोइराला परिवार चन्द्रशमशेरको निधनपछि वि.सं. १९८६ सालमा विराटनगर फर्किएको थियो । बुवा कृष्णप्रसाद कोइरालाले स्वदेश फर्केपछि विराटनगरमै घर बनाए । त्यतिबेला बनाएकै घर अहिले पनि कायमै थियो ।
कृष्णप्रसादले बनाएको यही घरबाट बीपीले सात सालको क्रान्ति सम्पन्न गरे । २०१५ को पहिलो आमनिर्वाचनमा बीपी यहीँबाट विजयी भए अनि २०३७ को जनमत संग्रहमा यही घरबाट कांग्रेसले आफ्नो मुख्य प्रचारप्रसारको काम गरेको थियो । पञ्चायतको आउटपोस्ट कब्जा गर्ने नाममा गाउँ पञ्चायत र नगर पञ्चायतको निर्वाचन २०४४ मा सहभागिता, जनआन्दोलन २०४६ र दोस्रो जनआन्दोलन २०६२–६३ मा पनि कोइराला निवासको योगदान नेतृत्वदायी थियो ।
आन्दोलनकारीहरुको समुहले लौह पुरुष एबम २०४६ को आन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको काठमाडौँ चाक्सीबारीस्थित निवास र सन्तनेता कृष्ण प्रसाद भट्टराईको ललितपुर बोडेगाउँ स्थित आश्रममा समेत तोडफोड र आगजनी गरेका छन। साथै उनीहरुले त्यहाँ रहेका बिभिन्न ऐतिहासिक सामग्रीहरु आगजनी गर्ने वा लुटेर लगेको बताइएको छ।















