पोखरा, जेन–जी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा हालसम्म १८ जनाको मृत्यु भएको र २ सय ५० बढी घाइते भएको बिभिन्न श्रोतले जनाएको छ । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको र काठमाडौँ बाहिर इटहरी लगायतका स्थानमा भएको प्रदर्शनमा पनि दुई युवाको मृत्यु भएको बुझिएको छ। काठमाडौँ उपत्यका बाहिर भएका प्रदर्शनमा पनि ठुलो संख्यामा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा काठमाडौंसहित देशका प्रमुख शहरहरुमा जेन–जी युवाहरूको समूह सडक प्रदर्शनमा उत्रिएकोमा प्रहरीसंग ठाउँ ठाउँमा झडप भएको थियो । काठमाडौँ र पोखरा लगायतका बिभिन्न शहरहरुमा कर्फ्यू जारी हुँदा पनि प्रदर्शनकारी सडकमै देखिएका छन ।
संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने १ सय जना घाइतेको उपचार भइरहेको छ ।
सिभिलबाट १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ । मन्त्रालयका अनुसार वीर अस्पतालमा ६ जना घाइतेको उपचार चलिरहेको छ । ट्रमा सेन्टरमा उपचारको लागि लगिएका ८ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते उपचारत छन् । मन्त्रालयका अनुसार ट्रमा सेन्टरमा विपद् योजना लागू गरिएको छ । यसै गरि एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने ३४ घाइते उपचारत रहेका छन् । जसमध्ये ७ जनाको अवस्था गम्भीर छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना घाइते उपचारत छन्। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केमएसी) मा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइतेको उपचार भइरहेको छ । केएमसीमा ६ जना गम्भीर घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचारत छन् ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन् । काठमाडौं उपत्यका बाहिर पोखराको गण्डकी अस्पतालमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र झापाको दमकमा ७ जना घाइतेको उपचार भइरहेको छ ।















