नेपाली कांग्रेसले राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका विज्ञप्ति जारी गर्नु नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको ठहर गरेको छ ।
यसै सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्नका लागि नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक यही जेठ ७ गते विहान ९ बजे पार्टी सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने भएको छ ।
यसै बिच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताउनुभएको छ।
सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् ।
यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ,पौडेलले भन्नुभएको छ।
नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गर्न र राष्ट्रपतिलाई महाअभियोग लगाएर विदा गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न भोलि साँझसम्मको समय दिएपछि थापाको यस्तो प्रतिक्रिया आएको हो ।
विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रक्रिया शुरु गर्नुपर्ने थापाको भनाइ छ । थापाले सामाजिक संजालमा लेखेका छन्,‘राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं । महाअभियोग लगाएर रापलाई बिदा गरौं।’
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् ।
६ जेष्ठ २०७८, बिहीबार २३:१२ मा प्रकाशित