पोखरा, सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा पोखराका प्रा डा भरत बहादुर खत्रीलाई नियुक्त गरेको छ । सरकारमा रहेका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेबीचको लामो समयदेखि चलेको खिचातानीको बिचमा डा. खत्रीलाइ उपकुलपतिमा नियुक्त गरिएको बुझिएको छ । उपकुलपति नियुक्तिको विषयलाइ लिएर बिगत तिन महिना देखि अन्योल बढेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा खत्रीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरेका हुन् । गत चैतमा पोखरासहित बीपी कोइराला (धरान), पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकाल सकिएको थियो। तर, सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीच प्रतिष्ठानको नेतृत्वमा भागबन्डा मिल्न नसक्दा नियुक्ति प्रक्रिया रोकिएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले पोखरा प्रतिष्ठानका लागि १७ जना आवेदकबाट ६ जनाको नाम सर्टलिस्ट गरेको थियो । सामान्यतया ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा ६ जनाको सूची सार्वजनिक गरिनुले पनि राजनीतिक दबाबलाई संकेत गरेको थियो । त्यही सूचीबाट निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका डा. खत्रीलाई प्रधानमन्त्री ओलीले नियुक्त गरेका हुन् । प्रा डा खत्री यसअघि प्रतिष्ठानमा निर्देशकको रुपमा कार्यरत थिए ।
डाक्टरहरु अर्जुन आचार्य, प्रदीप घिमिरे, माया लामा, चण्डिका पण्डित, निमित्त उपकुलपति भरतबहादुर खत्री, राकेशकुमार बर्मा, राजेश अधिकारी, नारायणसिंह गुरुङ, प्रेमराज ज्ञवाली, विधाननिधि पौडेल, ईश्वर शर्मा कँडेल, दीपकराज पौडेल, श्रीकृष्ण श्रेष्ठ, कालु शर्मा सुवेदी, विष्णुप्रसाद शर्मा, रामेशराज कोइराला, लक्ष्मीनारायण सिंह गरेर १७ जनाले आवेदन दिएका थिए । तीमध्ये ६ जनाको संक्षिप्त सूचीमा अर्जुन आचार्य, चण्डिका पण्डित, नारायणसिंह गुरुङ, विधाननिधि पौडेल, भरतबहादुर खत्री र माया लामाको नाम थियो । नेतृत्वविहीन हुँदा प्रतिष्ठानको नीति, योजना र शैक्षिक गतिविधिमा गम्भीर असर परेकोमा अब प्रतिष्ठानका कामकारबाहीले गति लिने अपेक्षा गरिएको छ ।
शुरुवातमा सोल्जर बोर्ड अस्पतालको रूपमा स्थापना भई कास्की जिल्ला अस्पताल, गण्डकी अञ्चल अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हुँदै २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको हो । सोहि प्रतिष्ठानको मातहतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संचालनमा रहेको छ । प्रतिष्ठानले चिकित्साशाष्त्रमा स्नातक र स्नातकोत्तरको पढाइ समेत संचालन गरिरहेको छ । सुरुवाती अवस्थामा ६ वटा विधामा स्नातकोत्तर कोर्स सञ्चालन सुरु गरेको प्रतिष्ठानले अहिले १० वटा विधामा पोस्ट ग्र्याजुएट कोर्सको पढाइ सञ्चालन गरिरहेको छ । यस वर्षदेखि जेनेरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन (एमडीजीपी), साइकाइट्री र अपथाल्मोलोजी विषयमा पिजी कोर्स सुरु हुँदैछ । अन्डरग्राजुएट कोर्समा बिएस्सी नर्सिङ तथा बीएनएसमा ३÷३ ब्याचको पढाइ चलिरहेको छ । यस शैक्षिक सत्रदेखि एमबीबीएसको पढाइ सुरु भएको छ र ५० जना विद्यार्थीहरू छन् ।
।