पोखरा, गुरुङ (तमु) समुदायको मौलिक सांस्कृतिक पर्वको रुपमा मनाइंदै आएको ‘ट्होंटे’ को अवसरमा कास्कीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । कास्कीको अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले यहि साउन २७ गते मंगलबारका दिन स्थानीय बिदा दिने घोषणा गरेका हुन् ।
गुरुङहरुले साउन र चैत्र महिनाको हरेक मंगलवार ‘ट्होंटे पर्बलाई आंफ्नो मौलिक सांस्कृतिक पर्वको रुपमा मनाउने परम्परा रहेकोमा पछिल्लो समय पोखरा बजारमा प्रत्येक साउनको अन्तिम मंगलवार र चैत्रको अन्तिम मंगलवार मनाउने गरिएको गण्डकी प्रदेश सभाका सदस्य सरस्वती गुरुङले गुरुकुल खबरलाई जानकारी दिईन ।
कास्की जिल्लामा रहेका पांचवटा पालिकामध्ये तीनवटा गाउँपालिकाले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै ‘ट्होंटे पर्बको अबसरमा पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने उल्लेख गरेका छन् । सुचनामा साउन २७ गते गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकारबाही बन्द रहने जनाइएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलको नामबाट जारी छुट्टाछुट्टै सूचनामा ‘आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ट्होंटे’ को अवसरमा बिदा दिइएको उल्लेख गरिएको छ ।
नेपाल लोकतन्त्रबादी आदिबाशी जनजाती महासंघ गण्डकीका अध्यक्ष जितबहादुर गुरुङका अनुसार गुरुङ समुदायले प्राकृतिक प्रकोप, महामारी र अनिष्टबाट आफ्नो गाउँबस्तीलाई जोगाउनको लागि मनाउने एक महत्त्वपूर्ण सांस्कृतिक पर्वको रुपमा ट्होंटे पर्व लाई लिने गरिन्छ । स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका विशेष संस्कृति, पर्व र जात्राहरूको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय बिदा दिन सक्ने अधिकारलाई उपभोग गर्दै कास्कीका तिन गाउँ पालिकाले बिदा दिने निर्णय गरेको बुझिएको छ।