पोखरा, राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा १२ को परीक्षामा उत्तीर्ण विद्यार्थीलाई पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयले आइतबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कक्षा १२ को परिणामले सिंगो पोखरालाई गर्वको अनुभूति गराएको बताए। विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतले उत्कृष्ट परिणाम आएको र त्यसको हकदार महानगरपालिका पनि भएको उनको भनाइ थियो। कार्यक्रममा व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान संकायमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै उनीहरुको आगामी शैक्षिक यात्राबारे जानकारी समेत दिइएको थियो।
त्यस अबसरमा बोल्ने क्रममा मेयर आचार्यले १२ मा असफल हुँदैमा वा कम अंक आउँदैमा कुनै पनि विद्यार्थी आत्तिन नहुने भन्दै विद्यालय तहमा बारम्बार असफल भएका विद्यार्थीले पनि विश्वविद्यालय तहमा उत्कृष्ट अंक ल्याउने गरेको चर्चा गरे। ‘मनले जे भन्छ, त्यही विषय पढौँ, बुबाआमा वा छिमेकीका लागि पढ्ने होइन। आफ्नो चाहनाअनुसारको विषय पढ्दा पक्कै सफल भइन्छ,’ उनले भने, ‘आफैले आफैलाई सोधेर पढौँ। अहिले पढेको पढाइले कम्तीमा राज्यलाई केही न केही योगदान दिनुपर्छ।’ उनको भनाई थियो ।
बिद्यालयका प्राचार्य किरण सापकोटाले यस पटकको नतिजाले विद्यालयको इतिहास रचेको बताए। ‘समग्रमा पोखराको १२ कक्षाको परिणाम अध्ययन गर्ने हो भने प्रतिभाको नतिजाले यो पटक निकै नै फड्को मारेको छ। यो समग्रमा पोखराका लागि पनि गर्वको कुरा हो,’ उनले भने, ‘प्रतिभाले बारम्बार फरक फरक क्षेत्रमा इतिहास रचेको थियो। यो पटक देशकै उत्कृष्ट नतिजामा आफूलाई हकदार साबित गरेको छ।’
प्रतिभा माविका सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभाले हरेक वर्ष शैक्षिक क्षेत्रमा छुट्टै पहिचान कायम गर्दै आएकोमा यो पटक त्यसले थप निरन्तरता पाएको बताए। ‘प्रतिभाको इतिहासमा इँटा थप्न यो पटक विद्यार्थीले ठूलो योगदान दिएका छन्। विद्यार्थीले कोरेको यो इतिहासलाई आगामी दिनमा निरन्तरता दिन विद्यालय अझ लाग्नेछ,’ पौडेलले भने।