Play

साउनको सोमबार पोखराको सदाशिव सिद्धेश्वर हरिहर मन्दिरमा पनि भक्तजनहरुको भिड बढ्दो

गुरुकुल खबर


पोखरा, साउनको सोमबार विभिन्न स्थानका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भिड लागे क्रममा पोखरा -१७ स्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिरमा पनि भक्तजनहरुको भिड लाग्ने गरेको छ । सेती नदीमा स्नान गरी शिवलिङ्गमा गाईको दूध र बेलपत्र चढाउँदा मनोकांक्षा पूरा हुने विश्वासले भक्तजनहरु शिवालयमा दर्शन गर्ने प्रचलन रहिआएको छ ।

पोखरा महानगरपालिका – १७ सीतापाइलास्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर पनि एउटा ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक स्थल हो । यस मन्दिरमा साउनका सबै सोमबारको दिनमा भक्तजनहरूको भिड लाग्ने गरेको छ । त्यहाँ पुग्ने भक्तजनहरुले सेती नदीको सीताघाटबाट स्नान गरी जल ल्याउने र मन्दिर परिसरमा निर्मित एक सय आठ शिवलिङ्गमा चढाउनुका साथै हरिहरको दर्शन गरेर दिनभरि उपवास बस्ने प्रचलन रहेको छ । सेती नदी र मन्दिरको दूरी लगभग एक सय मिटर मात्र छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीका अनुसार मन्दिर परिसरमा २२ लाखभन्दा बढीको लागतमा निर्मित १०८ शिवलिंग र १०८ गौमुखे धारा निर्माणले यस क्षेत्रको धार्मिक महत्त्व बढेको छ जसका कारण साउन महिनामा भक्तजनको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

यसका साथै सीताघाटमा स्नान गरी हरिहर मन्दिर, अकला देवी, सीताको पाइला, राम मन्दिर, सिद्धेश्वर लगायतका देवदेवीको वासस्थान रहेको यस पवित्र भूमिमा मानव सेवा फाउन्डेसन नेपालले केहि समय अगाडी पोखरामा आयोजना गरेको गण्डकी शतकुण्डीय कोटिहोम महायज्ञको मुख्य हवनकुण्ड मन्दिर परिसरमा रहेको छ, उक्त कुण्डमा अहिले पनि नित्य होमन भइरहेको अध्यक्ष भण्डारीले जानकारी दिए । तत्कालिन समयमा हवनकुन्डको शिलान्यास अन्तराष्ट्रिय कथा बाचक देबी प्रतिभा र बाल योगेश्वर बिजय कृष्णमुर्तीले गरेका थिए ।

साउन महिनाको अन्तिम सोमबार मन्दिरमा महाआरती र लाखेनाच समेत प्रदर्शन गरिने तयारी भइरहेको बताउँदै उनले भने, ‘यस क्षेत्रमा हुने प्रत्येक क्रियाकलापले धार्मिक गतिविधि बढ्नुका साथै मन्दिरको आम्दानी बढेको छ ।’ भक्तजनले स्वस्फूर्त सहयोग गरेको रसिदबाट साउन महिनामा ६८ हजार आम्दानी भएको थियो । दान बाकस र मन्दिर शिवलिंगमा चढाएको दान गणना भएको छैन ।

‘तत्कालीन कास्कीकोटका राजा कुलमण्डल शाहलाई सेती नदीस्थित सीताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन प्राप्त भई सो क्षेत्र देवदेवीको बासस्थान भएको र आफू शिलाको रूपमा रहेको दिव्यवाणी भएपछि खोज्ने क्रममा काप्ली गाईले दूध चढाइरहेको शिला भेटिएपछि उक्त पुण्यभूमिमा मन्दिर निर्माण गरी नित्य पूजा सञ्चालन हुँदै आएको किंवदन्ती रहेको छ ।’ अध्यक्ष भण्डारीले भने ।

मन्दिर निर्माण गरिएसँगै नित्य पूजा सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नम्बर १७ पार्दी बिरौटामा २९ रोपनी १२ आना गुठी जग्गाको व्यवस्था गरिएको विसं १८६४ मा प्राप्त लालमोहरले पुष्टि गरेको उनको भनाई थियो । हरिहरको दर्शन गर्दा आफूले सोचेको पुग्ने हुँदा प्रत्येक वर्ष माघे संक्रान्तिका दिन लाग्ने ढुंगेसाँघु मेला, शिवरात्रि, रामनवमी लगायतका विभिन्न पर्वको अवसरमा दर्शनार्थीको भिड लाग्ने गर्दछ । उक्त धार्मिक क्षेत्रमा १०८ शिवलिंग र १०८ गौमुखे पानीका धारा निर्माणले थप आकर्षण बढेको उनको भनाइ छ ।

विश्व जडीबुटी दिवसमा वृक्षारोपण

विश्व जडीबुटी दिवसको अवसरमा विभिन्न जातका बिरुवा रोपिएको छ । आचार्य गुरु बालकृष्णको जन्मदिनको अवसर पारेर पतञ्जलि योग युवा समिति कास्कीद्वारा मन्दिर परिसरमा राजवृक्ष, गुलमोहर, चाँप, धुपी, पैंयु लगायतका १५ वटा बिरुवा रोपिएको हो । सो अवसरमा पतञ्जलि योग महिला तथा पुरुष समितिका पदाधिकारी तथा सदस्यहरू, मन्दिर व्यवस्थापन समिति लगायत सोमबार मन्दिरमा दर्शन गर्न आएका भक्तजनको समेत सहभागिता थियो ।

२० श्रावण २०८२, मंगलवार १४:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा