नेपाल प्रेस युनियन सुनसरीले सोमबारदेखि जिल्लामा रहेका कोरोना संक्रमित पत्रकारहरुको घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको छ ।मेडिकल अधिकृत डा. अमितकुमार खतिवडा, स्टार्फ नर्स किरण चौधरी, मेडिकेयर पोलिक्लिनिक कालाबन्जरका अध्यक्ष तथा औषधि विज्ञ घनेश्वर शर्माको टोलीले संक्रमित पत्रकारहरुको घरमा गएर आवश्यक स्वास्थ्य अवस्थाको जानकारी लिने र औषधि वितरणसँगै निःशुल्क परामर्श दिने काम सुरु गरेको छ ।
जिल्लामा संक्रमितको हुनेको संख्या उच्च भएपछि धेरैजसो एकान्तबासमा छन् भने एकान्तबासमा रहेको समयमा आउन सक्ने समस्यालाई मध्यनजर गरी जिल्लाभर रहेका संक्रमित पत्रकारको घरमै पुगेर उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक औषधि साथै निःशुल्क परामर्श दिन मोबाइल डाक्टर सेवा सुरु गरिएको पे्रस युनियका सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।अधिकारीका अनुसार कोरानाको दोस्रो लहरसँगै सुनसरीका १२ जना पत्रकार संक्रमित भएका छन् । उनीहरु सबैको घरमा पुगेर मोबाइल डाक्टर सेवा प्रदान गरिने उनले बताए ।
‘कोराना संक्रमित भइ घरमै एकान्तबासका क्रममा कतिपय संक्रमितमा एक्कासी समस्या देखिने गरेको छ,’ अध्यक्ष अधिकारीले भने, ‘हाम्रा पत्रकार साथीहरुमा त्यस्तो समस्या नआओस् भनेर उनीहरुको स्वास्थ्य अवस्थाको नियमित जानकारी राख्ने छौँ ।
’डा. अमितकुमार खतिवडाले कोरोना संक्रमितलाई हौसला र आत्मबल बढाउनका निम्ति परामर्श दिने गरेका छन् । ‘यसबेला धेरैजसो मानिस मानसिक रुपमा कमजोर भएका छन्,’ डा. खतिवडाले भने, ‘कयौं त्रासमा बाँचिरहेका छन्, यस्तो समयमा सकारात्मक परामर्शले पनि ठूलो काम गर्छ ।’यतिबेला संक्रमितलाई आत्मबलको खाँचो हुने र आवश्यक परामर्शले उनीहरुको आत्मबल बलियो भइ कोरोनालाई चाँडै परास्त गर्न मद्दत पुग्ने उनले बताए ।