पोखरा, पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार सम्पन्न १७ औं नगरसभामा पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन्।
चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि बजेटमा वृद्धि गरिएको छ । चालू वर्षका लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट महानगरले ल्याएको थियो ।
उपप्रमुख गुरुङका अनुसार प्रस्तुत बजेटमा नगर कार्यपालिकाको कार्यालयका लागि ५५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासका लागि १८ करोड, वडा कार्यालयहरूका लागि १ अर्ब, पूर्वाधार विकासतर्फ २ अर्ब ३३ करोड, र शहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटका श्रोतहरु
महानगरपालिकाले खर्च व्यहोर्ने मुख्य स्रोतहरूमा संघीय सरकारबाट प्राप्त अनुदान ३ अर्ब १ करोड ८१ लाख (३६.१३ प्रतिशत) रहनेछ भने आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख (६३.८७ प्रतिशत) जुटाउने योजना रहेको उपप्रमुख गुरुङले जानकारी दिइन्।
बजेटको स्रोतमा संघको अनुदान र महानगरले ३३६ प्रतिशत बढी आन्तरिक राजस्व संकलन गर्ने जनाइएको छ । बजेटमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ एक् अर्ब, पूर्वाधारतर्फ दुई अर्ब, ३३ करोड र सहरी विकास पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड छुट्याइएको छ ।
जेठसम्म ५५ प्रतिशत मात्र खर्च
गत आर्थिक वर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो। तर, उपमेयर गुरुङका अनुसार जेठ मसान्तसम्ममा जम्मा ५५.४३ प्रतिशत मात्र खर्च भएको छ। पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा एक अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले सात अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो ।
बजेटबाट महानगरपालिकाले हालसम्म चार अर्ब १६ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । आन्तरिक राजस्व चाहिँ ९६ करोड ७३ लाख ५४ हजार संकलन गरेको छ । तर, आगामी आर्थिक वर्षमा भने महानगरपालिकाले आन्तरिक राजस्व अस्वाभाविक तरिकाले बढाउँदै आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार नै नगर प्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुख मञ्जुदेवी गुरुङले नगरसभामा बजेट पेस गरेकी हुन् ।
चालु आर्थिक वर्षको बजेटको स्रोतमा संघ सरकारबाट चार अर्ब २० करोड २२ लाख, प्रदेशबाट एक अर्ब ५५ करोड ३८ लाख रुपैयाँ अनुदान आएको थियो । त्यसबाहेक संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख, प्रदेश राजस्व बाँडफाँटबाट महानगरले ९ करोड ७२ लाख र स्थानीय राजस्वबाट एक अर्ब १२ करोड ८६ लाख आउने अनुमान गरिएको थियो । रोयल्टीबाट ५४ लाख २४ हजार र नगर विकास कोषबाट चार करोड ४८ लाख ऋण लिने अनुमान महानगरको बजेटमा थियो ।
आगामी आर्थिक वर्षको बजेटको स्रोतमा भने संघदेखि प्रदेशसम्म सबै अनुदान घटेको छ । संघबाट एक अर्ब एक करोड ८१ लाख अनुमान गरिएको छ । प्रदेशले दिने अनुदानदेखि राजस्व बाँडफाँट, रोयल्टीको अनुमान बजेट वक्तव्यमा उल्लेख नै छैन । नगर उपप्रमुख गुरुङले वक्तव्य पढिरहँदा कर्मचारीहरूले भने बजेट सच्याउँदै थिए । अर्कातर्फ महानगरले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत र चालु खर्च नै छुट्याइएको छैन । महानगरले खर्च गर्ने आम्दानी र उठाउने राजस्व समेत मिलेको छैन ।
नीति तथा कार्यक्रम पनि सार्वजनिक
बजेट प्रस्तुत गर्नुअघि आइतबारै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ।
एकै दिन हतार हतारमा नीति तथा कार्यक्रम ल्याएकै दिन बजेट सार्वजनिक गरेको हो । गत वर्ष असार ९ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट ल्याईएको थियो ।
प्रस्तावित नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न क्लिक गर्नुहोस ..