पोखरा, पोखरामा एक युवाको हत्या भएको छ भने अर्को एक युवा तालमा डुबेर बेपत्ता भएका छन। पोखराको बन बिज्ञान क्याम्पस नजिकको सडकमा गए राति एक युवाको विभत्स तरिकाले हत्या भएको छ भने आइतबार साँझ नै पोखराको बेगनासतालमा डुबेर एक जना बेपत्ता भएका छन।
आइतबार साँझ बेगनास तालको माझीकुना नजिक पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन थापा गाउँपालिका – ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ तालमा बेपत्ता भएका हुन् ।
उनको खोजीका निम्ति सशस्त्र प्रहरी बलको नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन भएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाए ।
यसैगरि बन बिज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरा क्याम्पस नजिकै एक युवाको हत्या भएको छ। सडकमा रक्ताम्य अबस्थाम भेटिएको अन्दाजी ३० बर्षीय युवाको हत्या किला ठोक्ने घन वा ह्यामरले ठोकेर गरिएको हुनसक्ने प्रहरीले जनाएको छ।
कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरिक्षक हरीबहादुर बस्नेतले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा मृत अबस्थामा युवाको शब भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोली अनुसन्धानका लागि घटनास्थल पुगिसकेको छ । हत्या भएका व्यक्तिको सनाखत हुन सकेको छैन ।
‘वन विज्ञान अध्ययन संस्थान नजिक शव फेला परेको छ , डीएसपी बस्नेतले भने, ‘अहिले हामी घटनास्थलमा अनुसन्धान गर्दैछौं, मृतकको पहिचान खुल्न बाँकी छ ।’
अन्दाजी ३० बर्षको जस्तो देखिने ति युवकको हुलिया र शरीरमा लगाइएको पोशाक हेर्दा सामान्य परिवारको जस्तो देखिएको र उनि माथि राति कै समयमा हत्या गरेको अनुमान प्रहरीले गरेको छ ।