पोखरा, पोखरा महानगरपालिका वडा नम्बर २६ को अर्घौँमा रहेको लक्ष्मी माविले शुक्रवार ६७औँ वार्षिकोत्सव तथा छात्रवृत्ति र पुरस्कार वितरण कार्यक्रम गरेको छ । विद्यालयका संस्थापक सदस्य बाबुराम श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे। श्रेष्ठले शैक्षिक विकासका लागि १ लाख रुपैयाँको अक्षयकोष सहयोग समेत गरेका थिए ।
पोखरा–२६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाले कार्यक्रमको उद्देश्य तथा समितिका योजना बारे जानकारी गराए । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत वद्रीनाथ सुवेदीले व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रणालीलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।
विद्यालयकी सहायक प्रधानाध्यापक ईश्वरी जिसीले स्वागत मन्तव्य राखेकी थिइन् भने अक्षयकोष स्थापना गर्ने दाताहरूको प्रतिनिधित्व गर्दै विनोद ढुंगाना र राजेन्द्रमणि लामिछानेले शुभकामना मन्तव्य राखेका थिए ।
प्रधानाध्यापक जगन्नाथ अधिकारीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अक्षयकोष तथा विद्यालय स्रोत शैक्षिक पुरस्कार अन्तर्गत पढाइ, अनुशासन, नियमित उपस्थिति, सरसफाइ, अतिरिक्त क्रियाकलाप र उत्कृष्ट अभिभावक पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी, खेलकुदतर्फ फुटबल, दौड, हाइजम्प, डोरी तान, भलिबल, कबड्डी, हिसाब दौड, लमजम, रसी तान, रिले दौड, चम्चा दौड, सदनात्मक खेल आदि प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षक, उत्कृष्ट अभिभावक र कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक गंगाधर बराल तथा विद्यार्थीहरू सुनिता सापकोटा र सुशान्त सुनारले गरेका थिए । कार्यक्रममा कक्षा १० का डिभिजन शर्मा, चन्दादाता खेमबहादुर गुरुङ, पोखरा–२६ का शिक्षा समितिका सदस्य हरि अधिकारीलगायतले मन्तव्य दिएका थिए ।