पोखरा, पोखरा महानगरपालिका -९ शान्तिबन नजिक संचालनमा रहेको पोखरा बहुमुखी क्याम्पसले बिश्वबिधालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। गत बैशाख ३१ गते आयोगले पोखरा बहुमुखी क्याम्पसलाई क्युएए दिने निर्णय गरेको बुझिएको छ ।
२०४४ सालमा स्थापना गरिएको पोखरा बहुमुखी क्याम्पस पोखराको पहिलो सामुदायिक क्याम्पस हो। २०४४ सालमा पोखराको पुरानो टूडिखेल स्थित राष्ट्रिय उच्च माविको भवनमा संचालन शुरु गरिएको पोखरा बहुमुखी क्याम्पस २०५९ सालदेखि पोखराको नयाबजारस्थित महेन्द्र माविको भवनमा स्थानान्तरण गरेर संचालन गरिएको थियो।
लामो आरोह र अबरोह पछि २०७९ मा कलेजको आफ्नै भवन पोखरा -९ शान्तिबन नजिक निर्माण गरिएपछि भने पोखरा बहुमुखी क्याम्पसले आफ्नै भवनबाट सबै किसिमको पढाई संचालन गरिरहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले गुरुकुल खबरलाई जानकारी दिईन ।
भौतिक पुर्बाधारको अभावमा शैक्षिक गुणस्तरसमेत वृद्धि हुन नसकेको बिगतको अबस्थामा पछिल्लो समय क्याम्पसले धेरै सुधार समेत गरेको छ। शुरुवातमा आइकम र आइएको कक्षा संचालन गरेको पोखरा बहुमुखी क्याम्पसले हाल बिबिएस र बिएको कक्षा संचालन गर्दै आएको छ। क्याम्पसमा हाल करिब ५ सय जना बिद्यार्थीहरुको साथै २१ जना शिक्षक प्राध्यापक र ६ जना कर्मचारी रहेकोक्याम्पस प्रमुख पराजुलीले बताईन।
उनका अनुसार क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि हुनु लगायत क्याम्पसमा आबश्यक पूर्वाधार समेत तयार भएकोले विश्वबिद्यालय अनुदान आयोगले पोखरा बहुमुखी क्यम्पसलाई क्युएएको प्रमाणपत्र दिने निर्णय गरेको हो। आयोगको Education Quality Assurance Accreditation Council अर्थात ईक्युएएसीको मूल्यांकनका आधारमा क्याम्पसहरुलाई क्युएए अर्थात Quality Assurance Accreditation को प्रमाण पत्र दिने गरिन्छ। उक्त प्रमाणपत्र दिने निर्णय आयोगले गरेको भन्दै आयोगको टिमप्रति क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष नरेन्द्र लालचनले आभार प्रकट गरेका छन।
यस अगाडी पोखराको जनप्रिय बहुमुखी क्याम्पस, कालिका बहुमुखी क्याम्पस लगायतले पनि क्युएए प्रमाणपत्र प्राप्त गरिसकेका छन। एकपटक प्राप्त गरेको प्रमाणपत्र सधैको लागि नहुने र निर्धारित समयमा मुल्यांकन हुने भएकोले यस किसिमको प्रमाणपत्र प्राप्त गरेका कलेजहरुलाई आफ्नो शैक्षिक गुणस्तर र भौतिक पुर्वाधारमा कमि आउन नदिन एबम जनशक्ति पनि दक्ष र सक्षम राख्नुपर्ने दवाब कायम रहन्छ।
विश्वबिद्यालय अनुदान आयोगको यो निर्णय संगै पोखरा बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर र आबश्यक पुर्वाधार राम्रो रहेको एबम जनशक्ति पनि दक्ष रहेको सन्देशआम बिद्यार्थी र अभिभावकमा पुग्ने र आगामी दिनमा पनि क्याम्पसको शैक्षिक सहित अन्य बाताबरण अझ राम्रो बनाउन प्रेरणा पुगेको पोखरा बहुमुखी क्याम्पसका आन्तरिक गुणस्तर सुनिश्चित समितिका संयोजक महेन्द्र रिमालले जानकारी दिए।