पोखरा, पोखराको पृथ्वीनारायण क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा २ हजार ८ सय ९६ मत खसेको छ । चैत्र ५ गतेका लागि निर्धारित मतदानका दिन मतपत्र छपाईमा गडीबडी देखिएपछि चैत्र १० गते अर्थात आइतबार मतदान भएको हो । क्याम्पसमा ९ हजार २ सय ७० मतदाता भए पनि करिब छ हजारले मात्र मतदाता परिचयपत्र लागेको तर २ हजार ८ सय ९६ जनाले मात्र मतदान गरेको बुझिएको छ।
जसअनुसार प्रत्यक्ष तर्फ २ हजार ८ सय ९६ मत खसेको थियो भने समानुपातिक तर्फ २ हजार ८ सय ९२ मत खसेको थियो बिहान ८ बजे सुरु भएको मतदान ४ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्ववियु निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले बताए ।
मतदान कार्य सकिए लगत्तै मतगणना गर्ने भनिएपनि राति करिब साढे ९ बजे सम्म पनि विभिन्न बिद्यार्थी संगठनका प्रतिनिधिहरुसंग बैठक जारी रहेको र बैठकले सोमबार बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको बैठकमा सहभागी नेविसंघका केन्द्रीय सदस्य संजय आलेले गुरुकुल खबरलाई जानकारी दिए । उनका अनुसार उक्त सर्बपक्षिय बैठकमा विभिन्न बिद्यार्थी संगठनका सहित स्वतन्त्र उमेद्वारहरु समेत सहभागी थिए।
पृथ्वीनारायण क्याम्पसमा १६ बर्ष पछि हुन लागेको निर्बाचनबाट स्ववियुको नयाँ नेतृत्व चयन हुँदै छ। पृथ्वीनारायाण क्याम्पसको स्ववियुको अध्यक्षका लागि ८ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुँदैछ। जसमध्ये कमल सुवेदी र विप्लवी न्यौपाने दुई जना स्वतन्त्र रुपमा उमेद्वार बनेका छन्।
बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् । जसअनुसार एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।
समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् । पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गर्न गठित निर्बाचन समितिका संयोजक प्राडा रामचन्द्र पोखरेलले मतदान शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको र सर्बपक्षिय बैठकको निर्णय अनुसार मतगणनाको समय निर्धारण गरिने गुरुकुल खबरलाई जानकारी दिए ।
यसपटकको स्ववियु निर्बाचनमा नेविसंघका उमेद्वारहरु बिगतको भन्दा बढी उत्साहित बनेर आफ्नो पक्षमा परिणाम आउने दाबि समेत गरेका छन। लामो समयदेखि एमाले सम्बद्ध अनेरास्ववियुको गढको रुपमा परिचित पृथ्वीनारायण क्याम्पसमा यस पटक नेविसंघका बिद्यार्थीहरु बीचमा एकता देखिएको र मतदाता बिद्यार्थीहरुले समेत नेतृत्वमा परिबर्तन चाहेकोले मात्र नभएर चुनाबी माहोल नेविसंघको पक्षमा देखिएको कारण आफुहरुले जित्ने दाबि नेविसंघबाट अध्यक्षका उमेद्वार शुशील नेउपानेको रहेको छ।
तर, नेविसंघकी उमेद्वार दिपिका पराजुलीले भने नेविसंघ समर्थक अधिकांश मतदाता मतदानमा सहभागी हुन नआएको कारण नेविसंघले सोचेजस्तो परिणाम आउन कठिन जस्तै देखिएको बताइन ।
यता अनेरास्ववियुका नेताहरु भने आफुहरुको विजयमा कुनै शंका नरहेको दाबि गर्छन। अनेरास्वबियुबाट स्ववियुमा उमेदवारी दिएका एक जनाले अनेरास्ववियुले खसेको मतमध्ये करिब १ हजार ४ सय मत पाउने दाबि गरे। स्वतन्त्र रुपमा अध्यक्ष पदमा उमेद्वारी दिएकी बिप्लवि नेउपानेलाई पनि बिद्यार्थीहरुले नसोचेको मतदान गरेको अनुमान बिद्यार्थीहरुले गरेका छन ।
सम्बन्धित समाचार ..
पृथ्वीनारायण क्याम्पसमा मतदान शुरु, अध्यक्षमा आठ जनाबीच प्रतिष्पर्धा, नेविसंघ उत्साहित