पोखरा, गण्डकी विश्वविद्यालयको कुलपति बन्नका लागि सातजनाले आबेदन दिएको छन । उक्त विश्वबिद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङ्गले आफ्नो कार्यकाल गत फागुन ४ गते पुरा गरेपछि नयाँ कुलपति नियुक्तिको लागि प्रक्रिया अगाडी बढाईएको थियो ।
गण्डकी विश्वविद्यालय बोर्ड अफ ट्रस्टीका अध्यक्ष प्रा. डा. कैलाश नाथ प्याकुरेलको संयोजनमा गठित तीन सदस्यीय सर्च कमिटीले विज्ञापन प्रकाशन गरी इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेकोमा निर्धारित मिति सम्ममा सातजना आकाक्षीहरुले आबेदन दिएका छन। आवेदन दिने आकाक्षीहरूमा प्रा. डा. विश्व कल्याण पराजुली , प्रा. डा. नव राज देवकाेटा, प्रा. डा. सरोज कोइराला, डा. कृष्ण राज अधिकारी, प्रा. डा. इन्द्र प्रसाद अधिकारी, प्रा. डा. कृष्ण गौतम, प्रा. डा. कुशुमाकर नेउपाने रहेका छन् ।
उल्लिखित सातजना मध्ये प्रा. डा. विश्व कल्याण पराजुली, डा. कृष्ण राज अधिकारी र प्रा. डा. सरोज कोइराला नेकपा एमाले निकटका मानिन्छन भने प्रा. डा. इन्द्र प्रसाद अधिकारी, प्रा. डा. कुशुमाकर नेउपाने र प्रा. डा. कृष्ण गौतम नेपाली कांग्रेस निकट मानिन्छन । प्रा. डा. नवराज देवकाेटा भने नेकपा माओवादी निकट मानिन्छन ।
तनहुँको शुक्लागण्डकी घर भएका प्राध्यापक गौतम त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन भइसकेका व्यक्ति हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा समेत लामो समय पढाएका उनी रेडक्रस लगायत सामाजिक संस्थामा क्रियाशील छन् ।
पोखरा घर भएका प्राडा पराजुली पृथ्वीनारायाण क्याम्पस पोखरामा समाजशास्त्र तथा मानवशास्त्रको पूर्व विभागीय प्रमुख हुन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य रहिसकेका पराजुली शैक्षिक र अनुसन्धानात्मक गतिविधिमा क्रियाशील छन् ।
प्राडा नवराज देवकोटा गण्डकी विश्वविद्यालयकै उपकुलपति हुन् । गोरखा घर भएका उनी यसअघि रामपुर कृषि क्याम्पसमा आवद्ध थिए ।
कास्कीको मादी घर भएका सहप्राध्यापक कृष्णप्रसाद अधिकारीले भौतिक शास्त्रमा विद्यावारिधि गरेका छन् । उनले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरमा पढाउँछन् ।
पर्वतका प्राडा कुसुमाकर न्यौपाने पृथ्वीनारायण क्याम्पस नेपाली विभागका पूर्व विभागीय प्रमुख हुन् । लोक साहित्यको क्षेत्रको अध्ययन अनुसन्धामा लामो समयदेखि क्रियाशील उनी अहिले पोखराको फूलबारीमा बस्छन् ।
कास्कीकै लेखनाथका प्रा डा इन्द्रप्रसाद तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिन हुन् । उनीसँग देशविदेशमा रहेर विभिन्न दातृ निकायहरुमा काम गरेको लामो अनुभव छ ।
पोखरा घर भएका प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसका निवर्तमान प्रमुख हुन् । अंग्रेजी साहित्यमा विद्यावारिधि प्राप्त कोइराला यसअघि पोखरा विश्वविद्यालयको उपकुलपतिको प्रतिस्पर्धामा समेत सामेल थिए ।
विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुने व्यवस्था छ । सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्य ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ र यसरी सिफारिस भएका व्यक्तिमध्येबाट मुख्यमन्त्रीले कुलपति नियुक्ति गर्ने व्यवस्था ऐनले गरेको छ ।
कुलपतिको पदमा पहिलोपटक नियुक्तिका लागि सिफारिस गर्न प्रदेश सरकारको शिक्षा क्षेत्र हेर्ने मन्त्रीको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र प्रमुख सचिव सदस्य रहेको ३ सदस्यीय समितिको व्यवस्था थियो । सुरुमा न्यासिक परिषद् गठन नभइसकेकाले कानुनमै त्यस्तो प्रावधान राखिएको हो । प्राडा गुरुङ त्यही समितिको सिफारिसमा नियुक्त भएका हुन् ।
गण्डकी विश्वविद्यालय ऐन, २०७६ को दफा २३ को उपदफा ३ अनुसार कुलपति पदमा नियुक्तिको सिफारिस गर्न गठित सर्च कमिटीमा न्यासिक परिषद्का अध्यक्ष प्रा. डा. कैलाश नाथ प्याकुरेल, गण्डकी प्रदेश लोक सेवा आयोगकी सदस्य कल्पना लम्साल तथा न्यासिक परिषदले तोकेको सदस्य डा. यमुना घले रहेका छन् ।
सर्च कमिटीले आवेदन दिएका सात जना उम्मेदवारमध्येबाट तीन जनाको नाम सिफारिस गर्नेछ। त्यसपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीले तीमध्ये एक जना योग्य मानिएका प्रा. डा.लाई कुलपति पदमा नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री हाल नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे रहेकाले कांग्रेस निकट याेग्यतम् प्रा. डा.ले नियुक्ति पाउने चर्चा चलेको छ । तर, गण्डकी प्रदेश सरकार नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनबाट बनेकोले नेकपा एमालेले पनि कुलपति पदमा आफ्नो अनुकुलको मान्छेलाई नियुक्त गर्न बिशेष चासो दिएको बताईन्छ ।
गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी भइरहेको छ । गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेश सभाबाट २०७६ असोज २७ मा पारित भएसँगै यसले विश्वविद्यालयको मान्यता पाएको हो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सोच र अग्रसरतामा विश्वविद्यालय खुलेको हो ।
विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचल अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आट्र्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) पढाइ हुन्छ ।