पोखरा, पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचन प्रक्रियामा निर्बाचन समितिको सामान्य त्रुटिका कारण उत्पन्न बिबाद बढ्दै गएपछि स्थगित गरि बुधबार गर्ने भनिएको मतदानलाई रोक्न प्रयास भैरहेको छ। मतपत्रमा सामान्य त्रुटि देखिएपछि उत्पन्न विवादका कारण आज दिउँसो मतदान कार्यलाइ स्थगित गरि बुधबार बिहान ८ बजेबाट मतदान गर्ने भनिएको थियो । निर्धारित समयमा मतदान हुन् नसकेपछि एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघसहित विद्यार्थी संगठन दिनभर जसो आन्दोलित बनेका थिए। बिद्यार्थीहरुले क्याम्पस गेट बाहिर नाराबाजी समेत गरेका थिए ।
निर्बाचन समितिले प्रकाशन गरेको मतपत्रमा अनेरास्ववियु छैटौंका उमेद्वारको लागि मत दिने ठाउँको कोष्ठ नराखिएको भेटिएपछि मतदान प्रक्रिया शुरु हुन सकेको थिएन । त्यसपछि निर्बाचन समितिले आफ्नो गल्ति भएको महशुस गर्दै बुधबार बिहान ८ बजे मतदान प्रक्रिया शुरु गर्ने जनाएको थियो निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले सूचना जारी गरी मंगलबार हुने भनिएको मतदान स्थगित भएको र बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने उल्लेख गरेका थिए ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पृथ्वीनारायण क्याम्पस, पोखरा मतदान केन्द्रमा स्व.वि.यु. को निर्वाचन आज मिति २०८१।१२।०५ गते विहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्ष तर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्व.वि.यु. निर्वाचन समिति गम्भिर रुपले आत्मआलोचित भएको छ ।”
सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधिहरुको रायबमोजिम उक्त मतपत्र रद्ध गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएको हुँदा उक्त मतदान कार्य मिति २०८१ साल चैत्र ६ गते बुधबारका दिन विहान ८:०० बजेदेखि सुरु हुने जानकारी गराइन्छ । साथै मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरु एवं विद्यार्थी मतदाताहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
निर्बाचन समितिले बुधबार बिहान मतदान शुरु गर्ने जनाएपछि नेविसंघ र एमाले समर्थित अनेरास्ववियुले आन्दोलन छोडेर चुनाबको तयारीमा लागेको भएपनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) ले भने निर्वाचन गराउने निर्वाचन प्रक्रिया अस्वच्छ र अनियमित रहेको आरोप लगाउँदै निर्वाचन समितिको राजीनामा माग गरेको छ । अखिल छैटौंले जारी गरेको विज्ञप्तिमा निर्वाचन समितिले निर्देशन विपरीत कार्यगर्दै निष्पक्षता कायम गर्न नसकेको आरोप लगाइएको छ ।
बिज्ञप्तीमा निर्बाचन समितिले मतपत्रमा अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामपछि रेजा लगाउने बाकस नराखिएको र अन्य संगठनको मिलेमतोमा निर्बाचन कार्यक्रमको तालिका तयार पारिएको जस्ता गम्भीर त्रुटिहरू भएको कारण निर्वाचन समितिले बारम्बार स्ववियु चुनाव विथोल्ने प्रयास गरेको देखिएको आरोप लगाइएको छ । यस्तो स्थितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन । तसर्थ, वर्तमान निर्वाचन समितिले राजीनामा दिनुपर्छ र नयाँ निर्बाचन समिति गठन गरी पुनः निर्वाचनको मिति घोषणा गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
अखिल छैटौंको यो बिज्ञप्ती संगै पृथ्वीनारायण क्याम्पसको निर्बाचन अन्तर्गतको मतदान प्रक्रिया फेरी पनि स्थगित हुने त हैन भन्ने प्रश्न उब्जिएको छ। “निर्बाचन समितिले बिद्यार्थी संगठनलाई बिश्वासमा लिएर निर्बाचन प्रक्रिया अगाडी बढाउनु पर्ने र बिद्मायार्थी संगठनले पनि निर्बाचन समितिले गल्ति महशुस गरि अरु गल्ति हुन नदिने प्रतिबद्दता व्यक्त गरेपछि उल्टै निर्बाचन समितिको राजीनामा मागेर नयाँ निर्बाचन समिति गठनको माग गर्नुले उक्त बिद्यार्थी संगठनले पनि चुनाब नचाहेको भनेर बुझ्दा हुन्छ।” एक बिद्यार्थी नेताले गुरुकुल खबरसंग भने।