Play

घलेगाउँमा सिनेमा सम्बाद: चलचित्र क्षेत्रका बिबिध बिषयमा सरोकारवालासंग रोमान्चक छलफल

गुरुकुल खबर


घलेगाउँ (लम्जुंग), चलचित्र पत्रकार संघ कास्कीले लम्जुंग जिल्लाको पर्यटकीय स्थान घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गरि चलचित्र क्षेत्रसंग सम्बन्धित विभिन्न व्यक्तित्वको कुरा सुन्ने र सुनाउने अवसर प्रदान गरेको छ । शनिबार विभिन्न चारवटा सेसनमा चलचित्र क्षेत्रसंग सम्बन्धित विभिन्न विषयमा सरोकारवालाहरुले आआफ्नो भनाई राख्दै चलचित्र क्षेत्रमा थप सुधारको आबश्यकता औंल्याए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती, लेखक विकास सुवेदी, संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा,  निर्देशक प्रकाश सपुत, कलाकार महेश त्रिपाठी, डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने, चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी लगायतले चलचित्रसंग सम्बधित विभिन्न बिषयमा भनाई राखेका थिए

कार्यक्रमको पहिलो सेसनमा ‘सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर’ बिषयमा निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदीसंग दीपक परियारले विभिन्न जिज्ञासाहरु राखेका थिए । बक्ताहरुले सिनेमामा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको बताउंदै यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको निष्कर्ष सुनाए।

निर्देशक नवीन सुब्बाले सिनेमा बनाउनेले पनि सिनेमाको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गरे । उनले विषयवस्तुको तथ्यमा सचेत हुनुपर्ने सुझाव दिए । उनले प्राकृतिक सौन्दर्य मारेर घलेगाउँमा ठूलठूला होटल बनाएर कृतिम सौन्दर्य थप्नेहो भने यसको अस्तित्व नरहने भन्दै  नेपाली फिल्म निर्माणमा मौलिकतालाई ध्यान दिनुपर्ने उल्लेख गरे।

अर्का वक्ता आहूतिले वर्गीय उत्पीडनको पक्ष नेपाली फिल्ममा अझै पनि कमजोर रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘उत्पीडितको ज्ञानलाई अझै स्वीकार्य गरिँदैन ।’ उनले भने, ‘उत्पीडितको विषयमा सिनेमा बनाउँदा उत्पीडितहरु अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको छ । उनीहरुको शिक्षालाई निर्देशकले स्वीकार्न तयार छै्रन । उनले यस वर्ष सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा पनि गन्धर्वहरु अशिक्षित छन् भन्ने देखाइएको टिप्पणी गरे । तर, अशिक्षित भए सारंगी कसरी बनाउँछन्, कसरी बजाउँछन् ? कसरी सुरताल जानेका हुन्छन् ? यो समाजलाई अघि बढाउन उनीहरुको ऐतिहासिक योगदान छोप्ने काम गरिएको छ ।

कलाकार आशा मगरातीले आफू दलित समुदाय, त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गरिन् । तर, अहिले यो ठाउँमा आइपुगेर आवाज दिन पाउँदा निकै खुसी लागेको भन्दै उनले भनिन, ‘गरिब भन्ने बित्तिकै अत्यन्तै गरिब महिला भनेर देखाइन्छ । के त्यतिमात्र हो त ? उहाँहरुको मर्म पनि बुझेर लेख्नुपर्छ । बाहिर आउनुपर्छ ।’

लेखक विकास सुवेदीले आफूले सक्रिय पत्रकारितापछि दुई वर्षसम्म झोला बोकेर ६०/६२ जिल्ला घुमेको स्मरण गरे । ‘प्रकाश’ पश्चिम नेपाल घुमेरै लेखेको बताउँदै उनले भने, ‘  अब काठमाडौँको कोठाबाट कर्णालीको कथा लेख्न सकिँदैन । मैले देखेको कथामा कति तथ्य नजिक जाने निर्देशकको हातमा पनि हुन्छ ।’

‘सिनेमामा संगीत – कति मौलिक, कति आधुनिक ?’ बिषयको अर्को सेसनमा तीन पुस्ताका कलाकारहरु संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुतसंगको संवाद रिमा विश्वकर्माले गरेकी थिइन् ।

खासमा चलचित्र तथा गीत संगीतमा मौलिकता हराउँदै गएको आरोप बेलाबखत आइरहन्छ । पछिल्लो समय बनेका चलचित्र तथा गीत संगीत परिवारसँगै बसेर हेर्न नसकिने खालका हुन्छ । त्यहाँ प्रयोग हुने शब्द, भाषाले मौलिकता गुमाउँदै गएको देख्न सकिन्छ । पछिल्लो समय बनेका गीत संगीतले मौलिकता गुमाएका हुन् वा आधुनिकता हो ? भन्ने बिषयमा उनले बिशेष जिज्ञाशा राखेकी थिईन

तीसको दशकदेखि गीतसंगीतमा रहेका वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाए । पहिलाका कुरा अहिलेका जेनेरेसनले पनि क्यारी गर्नुेपर्नेमा बास्कोटाले जोड दिए ।

संगीतकार वसन्त सापकोटाले संगीतको रोजाई जेनेरेशन अनुसार फरक पर्ने बताए । कथामा पनि क्यारेक्टर अनुसार गीत बनाउनुपर्छ भन्ने भाष्य बन्दै भएको उनको भनाइ छ ।

पहिला आउने र चलचित्रमा रिलेटेड नहुँदा गीतहरु कालजयी बन्न नसकेको सापकोटाले सुनाए । उनले भने, ‘पहिला चाहिँ गीत सुनिन्थ्यो । चलचित्र हेर्न गएपछि त्यसैमा रिलेटेड भएर आएको हुन्थ्यो र चलचित्र चलेपछि गीत हिट हुन्थ्यो । अहिले चलचित्रभन्दा पहिला गीत आउँछ।’

प्रकाश सपुतले कथा मौलिक भए संगीत पनि मौलिक हुन आउने बताए । ‘एउटा राम्रो निर्देशकले सम्भवतः आफ्नो कथामा मिल्ने संगीत नै प्रयोग गर्छ र कथाको पृष्ठभूमि मौलिक छ भने चाहिँ त्यहाँ प्रयोग हुने संगीत पनि मौलिक नै हुन्छ,’ उनले भने, ‘सिनेमाले नै संगीतलाई बोक्ने भएकाले हामीले कथा निर्माणमा अल्ली बढी ध्यान दिनुपर्छ ।’

चलचित्र विकास बोर्डको मापदण्डमा संगीतलाई नराखेको भन्दै उनले गुनासो पोखे । अहिलेको समय बजारमा चलेका गीतहरु मात्रै याद हुने खालको भएको कलाकार सपुत बताउँछन् । एउटा दुईटा भाइरल गीतहरुलाई मात्र हेरेर अहिलेको पुस्ताले मुल्यांकन गर्ने गर्छ । अहिलेका गीतहरु आजको भोलि सेलाउँछन् भन्नेमात्र देखिन्छ । किनभने अहिलेको समय त्यस्तो छ,’ उनले भने ।

सिनेमा संवाद कार्यक्रमको तेस्रो सेसनमा रिलदेखि एआईसम्म बिषयमा बोल्दै सदाबहार अभिनेत्री करिष्मा मानन्धरले  अहिले टेक्नोलोजीमा धेरै फरक आएको बताइन । अभिनेत्री मानन्धरले एआई भनेको आत्मा नभएको फूल हो भन्दै गमलाको फूल र प्लाष्टिकको फूलको उदाहरण दिईन। एआईका कारण मानिसहरुको स्मरण क्षमता कमजोर हुँदै गएको र मेहनत कम हुने गरेको उनको भनाई थियो ।

उनी संगै सम्बादमा रहेका कलाकार महेश त्रिपाठी तथा डिजाइनर एवं एनिमेटर अनिल न्यौपानेले एआईले मानिसको क्रियाकलापमा धेरै सहजता ल्याएको भन्दै समयअनुसार आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए । उनीहरुबिचको सम्बादमा सहजीकरण गरेका थिए सुव्रत न्यौपानेले।

सिनेमा संवादको अन्तिम सेसनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीबीच लामो कुराकानी चल्यो। सहजकर्ता पत्रकार अमृत सुवेदीले नेपाली सिनेमाको विकास हुन नसक्नुमा नीति वा नियत ? भन्दै प्रश्न गर्दा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले चलचित्र ऐन, फिल्म स्टूडियो, बक्स अफिसलाई ब्यबस्थित बनाउनु आफ्नो तत्कालको मिसन भएको बताए । उनले २०२६ सालको चलचित्र ऐन बिस्थापित गर्दै अब छिट्टै नै नयाँ चलचित्र ऐन आउने र आगामी वैशाखदेखि देशभरका हलहरुमा रियल बक्स अफिस हुने बताए ।

चलचित्र पत्रकार संघ अध्यक्ष समीर बलामीले संघले समग्र नेपाली चलचित्र र चलचित्र पत्रकारको हितमा काम गर्दै आएको बताए । उनले तत्काल चलचित्र ऐन पारित हुनुपर्ने आवश्यकता औंल्याए ।

चलचित्र पत्रकार संघ कास्कीका कार्यबाहक अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए । कार्यक्रम उद्घाटनमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, संघका केन्द्रीय अध्यक्ष समीर बलामी, संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल लगायत बोलेका थिए ।

कार्यक्रममा स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको जानकारी दिंदै कार्यक्रममा सहभागी पत्रकार बिजय नेपालले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको बताए ।

११ फाल्गुन २०८१, आईतवार ११:१९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
अर्जुन ओझा