पोखरा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालबाट डिस्चार्ज भएपनि हाल आइसोलेसनमा बसेर उपचार एबम आराम गरिरहेका छन।
उनलाई डाक्टरले केहि दिन भेटघाट नगर्न र नबोल्न सिफारिस गरेको कारण आइसोलेसनमा बसेको र कसैको फोन समेत रिसिभ गर्न नसकेको मेयर आचार्यले जनाएका छन ।
आफ्नो सामाजिक संजाल फेसबुकमा आफ्नो फोटो समेत पोस्ट गर्दै उनले आगामी मंगलबार सम्म कसैलाई फोन नगर्न समेत आग्रह गरेका छन।
यहि फागुन ३ गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण बर्षको उद्घाटन कार्यक्रमका अबसरमा बेलुन पड्किएर भएको दुर्घटनामा परि मेयर आचार्य सहित नेपाल सरकारका अर्थ मन्त्री बिष्णु पौडेल घाइते भएका थिए।
दुबैको अनुहार र हातमा आगोको लप्काले जलेको कारण दुबैजनालाई पोखरामा प्रारम्भिक उपचार पछि काठमाडौँ लगेर किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। मेयर आचार्य बिहिबार फागुन ८ गते मात्र अस्पतालबाट डिस्चार्ज भएको भएपनि पौडेल दुई दिन अगाडि नै डिस्चार्ज भएका थिए ।
यसैबीच उक्त घटनामा बेलुनमा ग्यास भर्ने भारतीय नागरिकलाई तत्कालै पक्राउ गरिएको भएपनि बुधबार उनलाई हाजिरी जमानीमा रिहा गरिएको छ । प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार हाइड्रोजन ग्यास भर्ने ४१ वर्षीय कमलेश कुमारलाई हाजिर जमानीमा रिहा गरिएको कास्कीका एसपी श्यामबावु ओलियाले संचारमाध्यमलाई जानकारी दिएका छन ।
मेयर आचार्यले शुक्रबार दिउँसो फेसबुकमा लेखेको कुरा..
म हिजो अस्पतालबाट डिस्चार्ज भएर अहिले आइसोलेसनमा ( isolation ) छु। तपाईंहरूको साथ, सहयोग, सद्भाव, र शुभकामनाका कारण मेरो स्वास्थ्य सुधार हुँदैछ। डाक्टरको सल्लाहअनुसार केही समय भेटघाट नगर्ने र नबोल्ने सिफारिस भएकाले फोन उठाउन सकेको छैन।
अत्यावश्यक अवस्थामा कृपया म्यासेज वा भ्वाइस म्यासेज पठाउनु होला। साथै, आउने मङ्गलवारसम्म फोन नगरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।
धनराज आचार्य
प्रमुख पोखरा महानगरपालिका
धन्यवाद!