Play

पोखराको कोटीहोम महायज्ञ रोक्ने मागमा अदालतले दिएन ‘अन्तरिम आदेश’, महायज्ञको ७५ प्रतिशत तयारी पुरा

गुरुकुल खबर


पोखरा, पोखराको फेवाताल किनारमा आगामी बैशाखबाट हुने भनिएको कोटीहोम महायज्ञ रोक्न माग गर्दै उच्च अदालत पोखरामा दायर गरिएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । पोखराकै अधिवक्ता भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले यहि फागुन २ गते उक्त स्थानमा हुने भनिएको महायज्ञ रोक्न माग गर्दै दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशले मंगलबार कारण देखाऊ आदेश जारी भएको हो ।

कोटीहोम महायज्ञ आयोजक मानव सेवा फाउन्डेसन सहित १० जनालाई प्रतिवादी बनाएर दायर गरिएको रिटमा महायज्ञ रोक्न माग गर्दै अन्तरिम आदेश माग गरोएको भएपनि अदालतले कारण देखाउ आदेश जारी गरेपछी महायज्ञ आयोजक उत्साहित बनेका छन । रिटमा महायज्ञ आयोजक मानव सेवा फाउन्डेसन, पोखरा महानगरपालिका, पोखरा महानगरको वडा न. ६, १३, र १४ को कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल ट्रष्टको कार्यालय र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसहित १० जनालाई विपक्षी बनाइएको छ ।

यसअघि पोखरामा कोटीहोम महायज्ञ सञ्चालन गर्न नदिएको भन्दै मानव सेवा फाउन्डेशनले पोखरा महानगरपालिकाविरुद्ध उत्प्रेषण परमादेश रिट निवेदन दायर गरेको थियो । उक्त निवेदनमाथि उच्च अदालत पोखराले महायज्ञ सञ्चालनमा कानुन बमोजिम बाहेक कुनै बाधा अवरोध नगर्न माघ १ मा आदेश जारी गरिसकेको छ।  महानगरपालिकाले महायज्ञको लागि आबश्यक पर्ने समिधाको लागि संकलित काठ दाउरा समेत जफत गरेर लगेपछि यो बिषय अदालत प्रवेश गरेको थियो दुई फरक निबेदनलाई एकैसाथ निरुपण गर्न  अदालतले अग्राधिकार प्रदान गरेकोबुझिएको छ ।

यसैगरि वातावरण संरक्षणका अभियन्ताहरूले पनि सो स्थानमा महायज्ञ सञ्चालन गर्दा सर्वाेच्च अदालतको फेवाताल संरक्षणसम्बन्धी आदेशको उल्लंघन हुने, रामसार क्षेत्रको पारिस्थितिक सन्तुलनमा असर पर्ने, र वातावरणीय प्रदूषण निम्त्याउने भन्दै अर्काे रिट निवेदन दायर गरेका थिए ।

अदालतले एउटै विषयमा विरोधाभाषी आदेश आउन नदिन न्यायिक आत्मसंयम र विश्वसनीयता कायम राख्नुपर्ने भन्दै प्रमाण प्रयोजनका लागि पेस भएको यसअघिको रिट निवेदनमा जारी अन्तरिम आदेश कानुनी आधारमा पुनरावलोकन हुनसक्ने जनाएको छ ।

तर, मुद्दाको संवेदनशीलता, सर्वाेच्च अदालतको आदेश, फेवाताल संरक्षण, रामसार क्षेत्र, पर्यावरणीय प्रभाव तथा पर्यटन क्षेत्रसँग अन्तरसम्बन्धित विषयहरूलाई मध्यनजर गर्दै अदालतले दुवै रिटलाई एकसाथ राखेर छिटो निरुपण गर्ने भनेको छ ।

अदालतले पछिल्लो निवेदनका विपक्षीहरू पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय पोखरा, नेपाल ट्रस्टको कार्यालय कमलादी काठमाडौं, जिल्ला प्रशासन कार्यालय कास्की, डिभिजन वन कार्यालय कास्की लगायतलाई म्याद जारी गर्दै आदेशको प्रतिलिपिसहित लिखित जवाफ दिन १५ दिनको समयसीमा तोकेको छ ।

कोटिहोम महायज्ञको ७५ प्रतिशत  तयारी पुरा 

आगामी वैशाख १७ गते देखि जेठ २६ गतेसम्म पोखराको लेकसाइडमा हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको करिब ७५ प्रतिशत तयारी पुरा भएको महायज्ञ आयोजकले जनाएका छन। कोटिहोम महायज्ञका संकल्पकर्ता यज्ञ शिरोमणी वालयोगेश्वर विजय श्री कृष्णमूर्ती महाराजका अनुसार महायज्ञको लागि जग्गा भाडामा लिने काम, कोटीहोमको लागि आबश्यक पर्ने विभिन्न सामानहरुको ब्यबस्थापन गर्ने काम, स्वयमसेवक छनोट गर्ने लगायतका आन्तरिक तयारी करिब ७५ प्रतिशत सकिएको छ ।

महायज्ञको भुमि पुजन बैशाख ३ गते गरिने र सोहि दिन यज्ञ कुण्ड खन्ने काम शुरु हुनेछ यसैगरी कोटीहोम महायज्ञको पुर्वांग बैशाख १७ गते र महायज्ञ अन्तर्गतको हवन गर्ने कामको प्रारम्भ बैशाख १९ गते हुने कार्यतालिका रहेको छ। महायज्ञको आयोजक मानव सेवा फाउन्डेसनका बिष्णु थापाले गुरुकुल खबरलाई जानकारी दिए।

कोटीहोम महायज्ञ अन्तर्गत बाराही चोक नजिकको नेपाल ट्रष्टको जग्गामा एक सयवटा हवन कुण्ड निर्माण गरिने र त्यहाँ तिन सय जना ब्राह्मण पण्डितले गायत्री मन्त्र उच्चारण गर्दै सवा करोड हवन गर्ने छन। क्याम्पिंग चोक नजिकको जग्गामा विभिन्न कथा बाचन हुने र अर्को खालि जग्गामा भजन प्रतियोगिता लगायतका कार्यक्रम गरिने बताइएको छ। भजन प्रतियोगितामा करिब पांच सय समूह सहभागी बन्ने बिश्वास आयोजकहरुको रहेको छ ।

जसअनुसार भागवत कथा प्रबक्ता सुश्री अनुराधा पाण्डेय, श्रीराम कथा प्रबक्ता देबीचन्द्रकला शखी, देबी प्रतिभा, भागवत मन्जरी राधिका दासी, बाचन प्रबिण पण्डित दिनबन्धु पोखरेल, भागवत भाष्कर पण्डित कमलनयन गौतम, विख्यात प्रवचनकर्ता चैतन्य श्रीकृष्ण महाराजले कथा बाचन गर्ने तय भैसकेको छ । यसैगरी नेपाल र भारतका विख्यात धर्मगुरुहरु  महायज्ञमा सहभागी भएर आशिर्बचन प्रदान गर्ने कार्यक्रम रहेको छ।

७ फाल्गुन २०८१, बुधबार ०९:२९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा