Play

पोखरामा कोटीहोमको तयारीमा जुटे आयोजकहरु, धार्मिक द्वन्द बढ्नसक्ने खतरा

महायज्ञ सम्पन्न गरेर मात्र फर्किने र धर्मको रक्षाका लागि अधर्म गर्न समेत तयार रहेको कृष्णमुर्तीको भनाई


गुरुकुल खबर


पोखरा, धर्मगुरु विजय कृष्णमुर्तिले पोखरामा आयोजना गर्न लागेको कोटीहोम महायज्ञलाई लिएर पोखरा महानगर पालिका सहितका केहि संस्थाहरु र धार्मिक संस्थाहरुबिचको बिबाद बढ्ने सम्भावना देखिएको छ। धर्मगुरु बिजय कृष्णमुर्तिले पोखरामा श्रीगण्डकी शत (सय) कुंडिय गायत्री कोटीहोम बिराट ज्ञान महायज्ञ-२०८२ गर्ने आफ्नो अडानलाई दोहोर्याएका छन। पोखरामा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले भने, “अब कोटीहोम बिराट ज्ञान महायज्ञ नगरी यहाँबाट कुनै हालतमा पनि फर्किन्न । ”

पोखरामा यस किसिमको महायज्ञ यस अगाडी नभएको र अब पनि यो पुस्ताले संभवत देख्न नपाउने दाबि गर्दै उनले पोखरामा महायज्ञ गर्ने सोच १० बर्ष अगाडी नै आएको स्पष्ट पारे। महायज्ञ उनले आफुले गर्ने महायज्ञ बिशेष किसिमको हुने र केहि महिना अगाडी पशुपतिमा भएको महायज्ञले पनि अद्भुत छाप जनमानसमा छोडेको भन्दै उनले पोखरामा हुने महायज्ञ पनि बिशेष हुने दाबी गरे ।

महायज्ञमा श्रीमदभागवत कथा,राम कथा, शिबमहा पुराण कथा, हनुमत कथा, श्रीमददेबी भागवत कथा बचन हुनुको साथै लाखौंको बिबाह, ब्रतबन्ध, चौरासी पुजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तिन सय भन्दा बढी ब्राह्मण गुरुहरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरि अरबौं रामनाम लेखिने र १ करोड शिबलिंग स्थापना  गरि १ करोड बेलपत्र द्वारा पुजन गरिने जनाइएको छ।

यसका साथै राष्ट्रिय भजन प्रतियोगिता, कबि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पुजा, जेष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका १ हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन,चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलांचल र धान्यांचल पर्बतको निर्माण, धार्मिक क्षेत्र संग सम्बन्धित बक्त्रित्वकला प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम गरिने भएको छ ।

२०८१ चैत्र १७ बाट २०८२  बैशाख १७ सम्म कोटीहोमको प्राचारत्मक कार्यक्रम हुने र बैशाख १७ देखि जेठ २६ सम्म कोटीहोम महायज्ञ हुने जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो।  महायज्ञ अबधिमा शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्त संगै बिश्वका विभिन्न मुलुकबाट प्रशिद्द कथा बाचक र वाचिकाको आगमन र आशिर्बचन हुने कार्यक्रम रहेको छ।

पत्रकार सम्मेलनमा बालयोगेश्वर भनी चिनिने कृष्णमुर्तीले धर्मको रक्षाका लागि आफुहरु अधर्म गर्न समेत तयार रहने अभिव्यक्ति दिएका छन्। उनको यो अभिव्यक्ति र पोखरामहानगर पालिकाका प्रमुख धनराज आचार्यले महायज्ञ रोक्नको लागि सार्बजनिक रुपमा दिएको अभिव्यक्तिका कारण धार्मिक रुपमा द्वन्द सिर्जना हुने देखिएको छ।

कोटीहोम सहितको महायज्ञ आयोजना गर्नका लागि नेपाल ट्रष्टले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि जग्गा उपलब्ध गराएको छ। विजयको मानवसेवा फाउण्डेशनले सो स्थान भाडामा लिँदै ११ लाख ५९ हजार रुपैयाँ बुझाईसकेको  छ भने साथै, पोखरा महानगरपालिकासँग स्वीकृति लिएर तिर्नुपर्ने करसमेत तिरेको प्रमाण फाउण्डेशनले सार्वजनिक गरेको छ।

महानगरको विभिन्न स्थानका रुख कटान गरेर दाउरा संकलन गर्ने अभियान अन्तर्गत महानगरपालिकाका विभिन्न वार्डले सिफारिस दिएर रुख कटान गरेकोमा अहिले आहिले आएर मेयर आचार्यले अनुमति नलिएको भन्नु आश्चर्यजनक भएको टिप्पणी महायज्ञका आयोजकले गरेका छन। चौताराका रुख सहित अन्य स्थानका रुख काटेर संकलन गरिएका दाउरा पोखरा महानगरले जफत गरेर राखेको छ । आयोजकले ५० ट्रकभन्दा बढी दाउरा संकलन गरि महायज्ञ स्थलमा जम्मा गरेकोमा अहिले महानगरले ती दाउरा नियन्त्रणमा लिएर राखेको छ ।

रुख कटानको बिषयलाई लिएर आमसर्बसाधारणले समेत विभिन्न प्रतिक्रिया दिएका छन् रुख कटान गर्ने अनुमति दिने र अनुमति नदिएको हो भनेपनि रुख काट्दा कुनै वास्ता नगर्ने तर महायज्ञ गर्ने भनिएपछि महायज्ञका आयोजकले रुख काटे भनेर सार्बजनिक रुपमा आलोचन गर्ने प्रवृति सनातन धर्म माथिको प्रहार भएको कतिपयले टिप्पणी गरेका छन

यता कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ ।

कोटीहोमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित नेपाल ट्रस्टको जग्गा सहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत, घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सुचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनसिलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्ध गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको हो । महानगरले नगर क्षेत्रमा आफ्नो अनुमति विना कुनै पनि व्यक्ति वा संस्थालाई कुनै प्रकारको अनुमति/सिफारिस/सहमति नदिन समेत ट्रस्टलाई अनुरोध गरेको छ ।

महानगरको नगर कार्यपालिकाको बैठकले मानव सेवा फाउण्डेसनले ऐतिहासिक चौतारीका वरपीपल लगायत रुख बिरुवाहरू गैर कानुनी रूपमा अनियमित तवरले कटान गरी पर्यटकीय राजधानी सहरको सुन्दरतामा क्षति पुर्‍याएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै रुख कटान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुन बमोजिम अविलम्ब कारबाही गर्न डिभिजन बन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय गरेको छ ।

विशेषगरी, बरपिपलका रुख कटानपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। धार्मिक गतिविधिका नाममा वातावरणीय क्षति पुर्‍याउन नहुने भन्दै स्थानीयले विरोध जनाइरहेका छन् । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले समेत यसको विरोध गरिरहेको छ । कोटीहोमकै लागि भनेर पोखरामा सयौं वर्ष पुराना चौतारामा धमाधम काट्न थालेपछि विवाद सुरु भएको थियो ।

तर कतिपय पर्यटन ब्यबसायीले भने पर्यटन ब्यबसायीको छाता संस्थाले सबै व्यवसायीको कुरा नसुनी र कसैको बहकावमा परेर बिज्ञप्ति जारी गरेको भन्दै आसन्तुष्टि समेत प्रकट गरेका छन।  महायज्ञ कुनै धार्मिक महत्वको स्थाल नजिक लगाउने चलन छ यो महायज्ञ स्थल बाराही मन्दिर नजिक र फेवातालको किनारको खाली जग्गामा लगाउने भनिएकोले यसमा आपत्ति मान्नुपर्ने कुनै कुरा नरहेको ति ब्यबसायीले बताए। अर्को तर्फ महायज्ञको कारण आन्तरिक पर्यटकहरुको आगमन बढ्ने भएकोले पर्यटन ब्यबसायीले बिरोध गर्नुको औचित्य नरहेको उनको भनाई छ।

पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन- पोखरा महानगर

२७ माघ २०८१, आईतवार १५:०६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा