पोखरा, नेपाली चलचित्र “अग्नि दहनको” प्रचार प्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो । चलचित्र पत्रकार संघ कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका विषयमा जानकारी गराइएको थियो।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिनेमा ६ वर्ष अगाडि छायाँकन गरिएको हो । सिनेमाका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफु धादिङ पुग्दा बोक्सीका नाम गरिएको कुकृत्यलाई देखेर सामाजिक चेतना फैलाउन सिनेमा निर्माण गरिएको बताए ।
“सुरुमा मान्छे बोक्सी हुन्न कहिल्यै किताब प्रकाशन गरिएको थियो । त्यसपछि गीत निर्माण भयो । सकरात्मक प्रतिक्रियाले पछि मात्रै सिनेमाको रुप लिएको हो ।”, उनले भने । सिनेमालाई अभियानकै रुपमा अगाडि बढाई देशका ५ सय भन्दा बढी ठाउँमा पुगेर प्रदर्शन समेत गरिएको उपाध्यायले जानकारी गराए । सिनेमा भोजपुरी र मैथली भाषामा समेत डब भएको छ ।
निर्देशक घनश्याम लामिछानेले “अग्निदहन” मनोरञ्जनात्मक सिनेमा नभई सामाजिक चेतना प्रवाह गर्ने सिनेमा भएको बताए । पृथक सिनेमा बनाइएको र स्वच्छ भावनाले काम गरिएकोले हलमा समेत दर्शकको माया पाउनेमा उनी विश्वस्त छन् । सिनेमा ९० मिनेटको भएको र सिनेमा हेर्दा आफ्नै सामाजिक परिवेशको कथा भेटिने भनाई उनको छ ।
कलाकार प्रकाश घिमिरेले समाजलाई सन्देश प्रवाह गर्ने सिनेमा अभिनयका लागि रोजाईमा पर्ने र अग्निदहन सोहि सिनेमा भएको बताए। बोक्सी प्रथा विरुद्धको कथामा कलाकारिता मार्फत गासिन पाउँदा खुशी लागेको भनाई उनको छ ।
कलाकार माओत्से गुरुङले सिनेमामा अन्धविश्वासलाई प्रशय दिने खालको भूमिका आफ्नो रहेको बताए । दशैंबाट यता नेपाली सिनेमाले हलमा गरेको व्यापार सकरात्मक भएको उल्लेख गर्दै समाज सेवाका लागि बनाइएको सिनेमालाई समेत दर्शकले माया दिने उनले उल्लेख गरे ।
कलाकार प्रमिला तुलाचन सिनेमामा बोक्सीका रुपमा प्रस्तुत भएकी छिन् । अहिले सम्म नगरेको पात्रका रुपमा आफुले अभिनय गरेको जानकारी उनले गराइन् । कलाकार तुलसी क्षेत्री लोकदोहोरी क्षेत्रबाट अभिनयमा आएकी हुन् । पहिलो चलचित्र भएकाले पनि आफ्नो भूमिकाले दर्शकको मन छुनेमा उनी आशावादी छिन् ।
लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ, उर्मिला पौडेल, प्रश्निा आचार्य, माधवशरण पौडेल लगायतको अभिनय छ । सिनेमाका संरक्षक मोहनराज पौडेल हुन् । सिनेमाको गीत र टेलर सार्वजनिक भइसकेको छ।