पोखरा, लामो समयको प्रतिक्षापछि नेकपा एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ। सोमबार दिउँसो गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेकपा एमालेबाट मन्त्री बनेका चार जनालाई पद तथा गोपनियताको शपथ गराए पछि नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको प्रदेश सरकारमा एमालेको प्रवेश भएको हो।
एमाले केन्द्रीय लेखा आयोगका सदस्य रहेकी गण्डकी प्रदेशककी सांसद पद्मा जिसीको नेतृत्वमा एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको हो । जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री बनेकी छन् ।
यस्तै, बागलुङका कृष्ण पाठक स्वास्थ्य, पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।
जिसीलाई यसअघि नै सरकारमा सहभागी गराउने तयारी थियो । तर सरकारले पूर्णता नपाउँदै ढल्यो र जिसी मन्त्री बन्नबाट बञ्चित भइन् । त्यसबेला अधिकारीले पूरानै अनुहारलाई मौका दिएका थिए । उनी नवलपुर २ (१) बाट निर्वाचित भएकी हुन् । २०४८ सालदेखि राजनीतिमा लागेकी जिसीको संसदीय भूमिका प्रभावकारी छ ।
पर्वत (२) बाट निर्वाचित मित्रलाल बस्याल एमालेका पूराना नेता हुन् । उनी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । दोस्रो कार्यकालमा निर्वाचित सांसदहरुमध्ये उनी सबैभन्दा ज्येष्ठ हुन् । त्यसैले ज्येष्ठ सदस्यको हैसियतले पहिलो प्रदेशसभा बैठक उनैले चलाएका थिए । बस्याललाई अधिकारी पहिलो कार्यकाल मुख्यमन्त्री हुँदा नै मन्त्री बनाउने चर्चा थियो ।
बागलुङका कृष्ण पाठक अधिकारी निकटका हुन् । उनी समानूपातिक सीटबाट निर्वाचित भएका थिए । सुरुमा मसालको राजनीति गरेका पाठक २०४१ पछि माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका हुन् ।
अर्का समानूपातिक सांसद प्रकाश केसी पनि अधिकारी निकट मानिन्छन। राप्रपाको राजनीति गरेका केसीलाई समानुपातिक सांसद बनाउने बेलामा पनि अधिकारीले जोडबल गरेका थिए अहिले भौतिक पूर्वाधार विकास मन्त्री पनि अधिकारीकै कारण बन्न सफल भएका छन। उनी लामो समय राप्रपाको राजनीतिबाट २०७४ मा एमाले प्रवेश गरेका हुन्। केसीलाई मन्त्री बनाएसँगै नेता खगराजको कार्यशैली प्रति एमाले सांसदबाटै असन्तुष्टि ब्यक्त भैरहेको छ।