Play

मुकुलको खुलासा : प्रहरीको सरूवा बढुवा नेपालमा, लेनदेन अमेरिकामा

गुरुकुल खबर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका तत्कालिन महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा सरुवा बढुवामा ठूलो आर्थिक लेनदेन गरेको खुलासा गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा डा. ढकालले तत्कालीन गृहमन्त्री लामिछानेले नेपालमा सरुवा बढुवाको डिल गर्ने र लेनदेन अमेरिकाम गर्ने गरेको आरोप लगाएका हुन् । उनले १ नम्बरको मान्छेलाई पाखा लगाएर नभइ ५ नम्बरको मान्छेलाई बढुवा दिंदा लामिछानेले अमेरिकामा पैसाको लेनदेन गरेको दावी गरे ।

अन्तर्वार्ताका क्रममा उनले रास्वपाका दुई जना केन्द्रीय सदस्यहरु मोहनजंग थापा र गोमा क्षेत्री अमेरिकामा रहेको र उनीहरुले उता पैसा बुझेर पठाउने गरेको बताए । त्यतिमात्रै होइन ढकालले अमेरिकामा रहेकी गोमाले महिनामा दुई लाख ५० हजार पार्टीलाई पठाउने गरेको पनि दावी गरे ।

अन्तर्वार्तामा उनले भनेका छन्–‘एक नम्बरको मान्छे बढुवा नभई जब ५ नम्बरको मान्छे बढुवा हुन्छ, त्यो भष्टाचार भएको मान्नुपर्छ । नत्र १ नम्बरको मान्छे नभएर ५ नम्बरको मान्छे बढुवा हुनुको आधार के ? लेनदेन थियो । यो लेनदेन नेपालमा हुँदैन । अमेरिकामा हुन्छ । अमेरिकामा रास्वपाका मोहनजंग थापा र गोमा क्षेत्री भन्ने दुई जना केन्द्रीय सदस्य हुनुहुन्छ । गोमा क्षेत्रीको नामबाट प्रत्येक महिना अढाइ लाखको दरले पार्टीलाई पैसा पनि आउँछ । यो लेनदेन अमेरिकामा हुन्छ, लेनदेन यहाँबाट प्रमाणीकरण हुँदैन ।’

तत्कालिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पद रिक्त नहुँदै ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेका थिए । लामिछानेले सचिवस्तरीय निर्णयबाट असार १० गते सोमबार पोखरेललाई एआईजीमा बढुवा सिफारिस गराएका हुन् ।

यद्यपी सरकार परिवर्तनका कारण मन्त्रीपरिषदको बैठक बस्न नपाउँदा पोखरेलले डिआईजीबाटै अवकाश पाइसकेका छन् । पोखरेलले २१ असारमा ५६ वर्षे उमेरहदका कारण अवकाश पाइसकेका छन् ।

मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय नगर्दा पोखरेलले दुई दिन एआईजी बन्ने मौका गुमाए । १० असारमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

१८ असारमा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका एआईजी उमेशराज जोशीको स्थानमा पोखरेललाई बढुवा सिफारिस गरिएको थियो ।

सिफारिसअनुसार बढुवा भएको भए उनी १९ र २० गते एआईजी हुने थिए । तर, यसबीच सत्ता साझेदार प्रमुख घटक नेकपा एमालेले नेपाली कांग्रेसको सत्ता सहकार्यको सहमति गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरलको बढुवाको निर्णय गर्न सकेन ।

तत्कालिन गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स पुगेका बेला काठमाडौंका दुई संवेदनशील कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखहरुको समय नपुग्दै सरुवा गराएका थिए ।

सामान्यतयाः राम्रो काम गरेका अधिकृतहरुलाई एक वर्ष नपुगी कार्यक्षेत्रबाट सरुवा गरिँदैन । तथापी परिसरका प्रमुख एसपी भुपेन्द्र खत्री र कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको अवधि नपुग्दै सरूवा भएको थियो ।

प्रहरी महानिरीक्षक नभएका बेला भएको सरुवाले प्रहरी संगठन भित्र खैलाबैला नै मच्चिएको थियो ।

त्यसैगरी लामिछाने पहिलो पटक गृहमन्त्री हुँदा पनि २०७९ पुसमा पुसमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीद्वय भुपन्द्र खत्री र सोमेन्द्रसिंह राठौरलाई ६ महिनामै हटाएका थिए ।

लामिछानेकै जोडबलमा सिनियर एसएसपीहरु हुँदाहुँदै दान बहादुर कार्की र डा. मनोज कुमार केसीलाई डिआईजीमा बढुवा गरी वरियतामा अगाडि ल्याएका थिए ।

कार्की मुकुल ढकालले भनेका मोहनजंग थापाको जोडबलमा बढुवा भएका थिए । केसीलाई भने लामिछानेकै स्वार्थमा अगाडि ल्याइएको हो ।

(साभार – अनलाइन नेपालबाट)

१६ श्रावण २०८१, बुधबार १३:११ मा प्रकाशित
Nabintech