प्यारो छोरा अनिरुद्ध छोरी आभ्या मिठो चुम्बन….
तिम्रो भविष्य उज्जवल बनाउने हेतुका साथ कठोर समयसँग मुकबिला गर्दैगर्दै यहाँसम्म आइपुगे, तर यो समय अझै बढी कठोर बनिरहेको छ । मलाई याद छ, तिमी गर्भमा आएदेखीका खुशीहरु, दुखहरु सबैसबै कुराहरु, जिबन आफुले सोचेजस्तो कहाँ हुदोरहेछ र ? भन्थे – तिमीलाइ कहिले छोडने छैन, जति दुखहरु आइपरे पनि पिठयुमा बोकेर सामना गर्ने छु भन्थें, तर सकिन मलाई माफ गर, मलाई रहर नभएको कहाँ होर ?
“तिमी सँग तारा बाजी लै लै गर्न, ओकल दुक्कल गर्न, तिम्रा कलिला हातहरु समाएर हिड्न , भजन मा ताली पिटेर नाच्न सिकाउन, गोलो गोलो अन्डा पुलिसको डन्डा लेखाउन“ तर बाध्यताले यि सबै सबै रहरहरु थाती राखेर काखमा लुट्पिटिएका तिमीहरुलाई आफुबाट अलि टाढा राखी साइत गरेकी थिए ।
त्यो गएको रात रोएरै बितेको थियो तिमीहरु अबोध थियौ कताकता आफुलाई नै पापी भन्न मन लाग्थ्यो, अन्तत घर छोडे, तिमीलाई छोडे ! आँसुले बाटो छेकेको थियो, मुटु सय किलोको ढुङा जस्तै भएको थियो, तिमीलाइ केहि नहोस म बिना नै बाच्न सक्ने शक्ति भगवानले दिउन भन्ने प्राथना गर्दै लागे परदेश ।
लाग्थ्यो म तिमी वरिपरी नै छु, दिउसोको तीन बज्यो, हिड़ने बेला आयो, उडान निस्चित भयो सबैजना आडैमा बसेर सम्झाइ रहनु भएको थियो ।तर मलाई कुनै कुराको पनि प्रबाह नै थिएन । बस तिमीहरु बाहेक, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट साँझ छ बजेको उडान थियो ।
जसरी नि छुट्टिनु नै छ, सबैलाई बिदा गरेर एक्लै डाँको छोडेर रुन्छु जस्तो लाग्थ्यो । मुहार कालो पार्दै तिम्रो हजुरआमा ,बाबा ,हजुरबाबा वरिपरी घुमिरहनु हुन्थ्यो। त्यतिकैमा चार बज्यो, बिमानस्थल भित्र छिर्ने आदेश आयो, मैले मुटुभरि पिडा र आखा भरि आँसु बोकेर सबैलाई बिदाइको हात हल्लाए र भने। “छोराछोरीको राम्रो ख्याल राख्नु”
मलाई त्यती बेला संसार नै अध्यारो लाग्यो आकाश झरे जस्तो धर्ती भासिएको जस्तो प्रकृती आफैमा टुक्राटुक्रा भएजस्तो, मनमा ज्वालामुखी जस्तो के बलेको हो ? मुटुमा भुँईचालो गए जस्तो के भड्केको हो ? आँसु समुन्द्र जस्तो के बगेको हो ? हैन एकाएक किन यस्तो भएको हो ? म आफुलाई सम्हाल्नै सकिन, मैले त्यती नै बेला आमालाई पनि धेरै सम्झिए, सायद मेरी आमालाई पनि आज म छुटेको दिन यस्तै भएको हुनुपर्छ ।
आमा घरिघरि रुदा झर्किने, कराउने मेरो बानी म आफै आमा बने पछी थाहा पाएँ । खास आमा भनेको के हो भनेर। जसोतसो आफुलाई उभ्याइरहे। सकिनसकी मान्छेहरु रमिते बनेर हेरिरहेका थिए। मनमा आधी हुरी चलिरहेको थियो, अनेक शब्दहरु तछाड मछाड गरिरहेका थिए । दुधे बालक बहिनी अनी तिमीलाई हुर्काउने जिम्मा आमालाई नै सुम्पिएर हिडेकी थिए ।
सजिलो कहाँ थियो र ? अरुको लाख भन्दा आमाको काख प्यारो भन्ने उखानले फेरी झस्काउथ्यो, तिम्रो खुशीका लागि परिवारका हरेक सदस्य जेसुकै गर्न तयार हुनुहुन्थ्यो, बाबा हजूरआमा, हजुरबाबा, ठुलिआमाहरु घरिघरि यो कुराले खुशी हुन्थे, तर तिमीसँग सबै कुरा भएर पनि म छैन जस्तो हुन्थ्यो।
घरि घरि लाग्थ्यो, सुनको महल, पैसाको बिटो, चिल्लो गाडी, सुख सयल यि सब आखिर के का लागि चाहन्छ होला मान्छे जो आफु कहिल्यै खुशी छैन भने, मनमा अनेक प्रश्न आउंथ्यो, आखिर बिहान बेलुका छाक टार्नु न हो । खुशीले त एक छाक नखाएरै टर्छ होला जस्तो भान हुन्थ्यो ।आफुलाई के के बनाए के के ? छिन मै साहित्यकार, छिन मै मनोबैज्ञानिक, छिन मै आशु कबि …
अन्तत प्लेन आयो, उडान निश्चित भयो । साँझ छ बजेको , झोलाबाट मोबाईल झिकेर आमालाइ फोन गरे र भने । ‘आमा म अब जान लागे, दश पन्ध्र मिनेटमा उड्छु, मैले अरु कुरा भन्नै पाइन, वाक्य नै फुटेन, आमा रुनु भो। मैले फोन काटिदिए। तिम्रो बाबालाई मेसेज लेखे “म गए राम्रोसँग बस्नु, आमालाई सम्झाउनु, बाबुनानी लाई म नभएको जस्तो अनुभुती कहिले नगराउनु, आसुले नै बाइ लेखे” बिस्तारै प्लेन गुड्यो र उड्यो पनि ।अब त सबै सकियो कति रोए कति, कति सम्झे कति, आमाको मन न हो आधा मुटु उतै छोडेर हिडेको जस्तो भयो ।
स्वदेश, घरपरिवार र तिमीहरु बाहेक दिमागमा केहि आएन, स्क्रीनमा गीत सुन्थे , फ्लिम हेर्थे तिमीलाई बिर्सन खोज्थे, तर यादलाई मार्न केहिले सक्दो रहेनछ । लामो यात्रा तय गरेपछी कतार आयो । प्लेन रोक्यो पाँच घन्टा बस्नुपर्ने थियो । निकै सुन्दर कतार, झिलिमिली बत्ती, ठुलो र रमाइलो लाग्ने कतार बिमानस्थल झल मल्ल थियो । तर मेरो मनमा अध्यारो मात्रै थियो सन्नाटा छाएको थियो ।
रुन कहीं पनि बिसाएकी थिइन, पाँच घण्टा बिताउन पाँच महिना जस्तो लाग्यो समय न हो, त्यो पनि बित्यो, त्यहाँबाट अर्को गन्तब्य सुरु भयो अमेरिकाको । उहि क्रम दोहोरियो, गुड्यो अनि उड्यो, पट्यार लाग्दो यात्रा, निराश पन एक्लोपनले झनै च्यापिरहेको थियो । अझै १४ घण्टा उड्नु छ । आकाशमा न निन्द्रा छ, न भोक नै छ, छ त केवल याद मात्र ! त्यति बेला थाहा पाएँ जिबन, माया र सम्बन्ध के हो भनेर । सायद यि चिजहरु पैसाले किनेर कहिले पाइदैन। समयले झन झन टाढा बनाउदै लग्यो। गन्तब्यको निकट आइपुगेको भान हुन्थ्यो। करीब करीब १४ घण्टाको यात्रा पछी अमेरिकाको वाशिंगटनमा प्लेन ओर्लियो, बिमानस्थल बाहिर तिम्रो फुपू, भिनाजु मलाई कुरिरहनु भएको थियो ।
जब उहाँलाई भेटे, झन आफुलाई सम्हाल्नै सकिन। हुन त बिछोडको पिडा, बिदेशको दुख अनुभव नभएको हैन बिदेशमा बसेर झेल्नुपर्ने समस्याहरु सबैको सामना गर्छु भन्ने मनस्थिती तन्दुरुस्त राखेर झोला बोकेकी तिम्री आमा अझै पनि ति सङघर्षहरुसँग लडिरहेकिछु । जुन तिमीलाई खुशी पार्नका लागि, तिम्रा अभावहरु तिमीलाई असल र स्वभिमान बनाउनका लागि, तिम्रो उज्वल भविष्यको लागी। खैर मनमा तिमीसँग भन्नुपर्ने एउटा उपन्यास नै तयार भएको छ। सबै कुरा भेटेरै भन्छु, जति लेखेपनि सकिदैन, मनका गन्थन झन झन थपिदै आउछन । झन झन मुटु भरिएको भान हुन्छ लामो समय बितिसकेछ । प्रिय बच्चा, आज यतिका दिन बितेछन, त्यस्तो कुनै पल छैन म तिमीहरुलाई नसंझेको….. बहिनिलाई धेरै माया गर, मिलेर खेल्नु, ज्ञानी हुनु, हजूरबाबा आमा लाई दुख नदिनु, बाबालाई धेरै माया गर्नु … हामी छिट्टै भेटन पाऊँ भनी भगवान संग प्राथना गर्नु है !
धेरै माया मेरा बच्चा!
( सुप्रभा अधिकारी , हाल अमेरिका )