काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र निरन्तर असन्तुष्टि बढ्दो देखिन थालेपछि ओरालो यात्रामा देखिन थालेको छ। रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणले तनाव थपेका बेलामा हिमालयन बैंकले अर्को मुद्दा हालेको छ ।
ग्यालेक्सी टिभीमा “को बन्छ करोडपति” कार्यक्रम प्रयोजन बापतको रकममध्ये ५० प्रतिशत अघि नै लिएर कार्यक्रम नबनाएको भन्दै बैंकले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको छ ।
ग्यालेक्सी टिभीमा उक्त कार्यक्रम बनाउने सम्झौता भएको बेलामा रवि लामिछाने सेयर सदस्यको रुपमा थिए भने सम्झौतामा ‘डिल’ गर्ने कर्मचारी विपिन आचार्य थिए । आचार्य अहिले रास्वपाको सहमहामन्त्री रहेका छन् । बैंकले करिब ६२ लाख रुपैयाँ ठगी भएको दाबी गरेको छ । यो तनाव बाहिर आउनुभन्दा ठिक अघि रास्वपाका सीईओ हेमन्त बरालले पनि राजीनामा दिएका थिए ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ स्थित रास्वपाको सम्पर्क कार्यालयमा कार्यरत बरालले २०८१ बैशाखमै राजीनामा दिएका थिए । तर, यो विषय पनि अलिक ढिला गरी सार्वजनिक भएको छ । महिनाको करिब डेढ लाख रुपैयाँ तलब पाउने गरी बराल नियुक्त भएका थिए ।
फिलिपिन्सबाट नेपाल आएर रास्वपाको सीईओ भएका बरालको राजीनामाले अन्य आशंका पैदा गरेकाे छ । त्यसो त, उनले तलब नपाएर जागिर छोडेको समाचार पनि सार्वजनिक भएका छन् ।
हज्जारौं नेपालीलाई विदेशबाट फर्काएर रोजगारी दिलाउने, ब्लु बस, ब्लु एम्बुलेन्स र स्वास्थ्य चौकी चलाउने, अरु दलको भन्दा फरक कार्यालय सन्चालनको नमुना देखाउने भन्दै दर्खास्त आह्वान गरेर बराललाई नियुक्ति दिइएको थियो ।
रवि लामिछानेको निर्वाचन क्षेत्रमा चलेका एम्बुलेन्स र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु बन्द भएका छन् । महिलाहरुका लागि चलेको ब्लु बस पनि बन्द हुने अवस्थामा पुगेको छ । रवि लामिछानेको केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म पनि समस्या देखिन थालेपछि उनको पार्टी रास्वपाभित्र भद्रगोल हुन थालेको संकेत गरेको छ ।