पोखरा, नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा.कृष्ण हरि पुष्कर र एसियाली विकास बैङ्कको नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गर्नुभएको हो । जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे चार अरब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।
सहरी विकास मन्त्रालयमा भएको दिगो पर्यटन विकासका परियोजनासँग सम्बन्धित सम्झौतामा परियोजना प्रमुख रोशन कुमार श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गर्नुभएको हो । परियोजना अन्तरगत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्म फास्ट ट्र्याक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, ७ ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माण लगायतका पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजनाहरू रहेका छन् ।