पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे संघीयता, अधिकार बाँडफाँड र कानून निर्माणको विषयमा संघीय सरकार विरुद्ध पुन: खनिएका छन् ।
उनले आफ्नो पार्टीलाई समेत संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चै मनैदेखि स्वीकार गरेको हो भनी प्रश्न गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा बोल्दै उनले मंगलबार त्यस्तो प्रश्न गरेका हुन् । यो विषय कांग्रेस पार्टीले प्रष्टताका साथ अगाडि ल्याउनु पर्ने उनको भनाइ छ ।
यस्तै भनाई उनले केही हप्ता अघि पनि ब्यक्त गरेका थिए । ‘म तपाईंहरुलाई साक्षी राखेर सभापतिज्यू, महामन्त्री र आदरणीय साथीहरुलाई सोध्न चाहन्छु, यो जिम्मेवारी कसको हो ? संघीय कानुन बनाउने जिम्मेवारी कसको हो ?’ मुख्यमन्त्री पाण्डेले प्रश्न गरे ।
उनले थप भने- तपाईंहरुले कानुन नबनाइदिएका कारणले हामीले कानुन बनाउन सक्या छैनौं । हामीले कानुन नबनाएका कारणले स्थानीय तहले कानुन बनाउन सक्ने छैन । कतिपय हामीले कानुन बनाएका छौं तर संघले कानुन नबनाएका कारणले लागु गर्न सकेका छैनौं । यो जिम्मेवारी तपाईंहरुले लिने कि नलिने ?
यदि कांग्रेस संघीयताको पक्षमा दृढ भए संघीयता बलियो बनाउन चाहिने कानुन छिटो निर्माण गर्न अग्रसर हुनुपर्ने पाण्डेले बताए ।