पोखरा, त्याग, साहस, सिद्दान्तको प्रतिमुर्ती एबम प्रजातन्त्र पुनर्स्थापनाको लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवस यहि असोज २ गते शुक्रबार बिभिन्न कार्यक्रमका साथ मनाइंदैछ। नेपाली राजनीतिमा त्याग र साहस भएको अनि सिद्दान्त नछोड्ने नेताको रुपमा गणेशमानलाई लिने गरिएको छ।
नेता सिंहको जन्म बिस. १९७२ कार्तिक २४ गते काठमाडौँको चाक्सीबारीमा भएको थियो भने २०५४ साल असोज २ गते निधन भएको थियो।जेलनेल, दुःख,यातना र प्रवास सबै सहेर पनि प्रजातन्त्र र जनताको मुद्धा कहिल्यै नछोड्ने नेताको रुपमा सिंहलाई लिने गरिन्छ। २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस (हालको नेपाली काँग्रेस) को विकास र विस्तारमा आजीवन योगदान गरेका सिंह सैद्धान्तिक हिसाबले बिपी कोइरालाका कडा समर्थकका रूपमा पनि लिईन्छ।
नेपाली काँग्रेसमा लागेर प्रजातन्त्रको पुनर्स्थापनाको लागि भएका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्बाह गरेका स्व. गणेशमान सिंहलाई लौहपुरुषको रुपमा पनि मानिन्छ । यसका अतिरिक्त २०४६ को आन्दोलन सफल भएपछि तत्कालिन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरेको भएपनि सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन लगाएकोले उनलाई सत्ताको लोभ नगर्ने त्यागी नेताको रुपमा पनि लिईन्छ।
१९९७ मा नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भएर राणा शासनविरुद्ध सक्रिय बनेका सिंहले २००७ सालको क्रान्तिमा वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेको र २०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि ८ वर्ष सिंहदरबार र सुन्दरीजल जेलमा बिताएका थिए। त्यसपछि भारत प्रवासमा रहेका उनि बिपी कोइरालासंगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केर पुन पञ्चायती शासन बिरुद्ध नेपाली कांग्रेसले गरेका हरेक आन्दोलनको अग्रमोर्चामा रहँदै आएका थिए।
२०४६ सालको जनआन्दोलनमा पञ्चायती व्यवस्था विरुद्ध कांग्रेस र बामपन्थी सहितका सबै राजनीतिक दलको नेतृत्व गरेर जनआन्दोलनका कमान्डर बनेका सिंह रातो टोपी लगाएर सडकमा उत्रिएको र सिंहकै नेतृत्वमा बहुदलको पुनःस्थापना भएको हो।
सिंहको स्मृति दिवसको सन्दर्भमा गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेश समितिले गणेशमान सिंहको शालिक रहेको स्थान पोखराको नालामुखमा बिशेष कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा गरिने फाउन्डेसनका गण्डकी प्रदेश सदस्य कुमार रानाले गुरुकुल खबरलाई जानकारी दिए।

फाउन्डेसनको गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाको अध्यक्षतामा मंगलवार बसेको बैठकले सिंहको स्मृति दिवस मनाउने निर्णय गरे अनुरुप कार्यक्रम तय गरिएको बताइएको छ। कार्यक्रमका अबसरमा स्व. सिंहको शालिकमा माल्यार्पण सहित बिभिन्न व्यक्तित्वहरु द्वारा श्रद्दान्जली अर्पण गर्ने र मुलुकमा प्रजातन्त्रको पुनर्बहालीको लागि सिंहले पुर्याएको योगदानको बारेमा चर्चा गरिने बताइएको छ।
स्मृति दिवसकै सन्दर्भमा पोखराको सृजनाचोकमा रहेको गणेशमान पार्क र नालामुखमा रहेको शालिकको सरसफाई कार्यक्रम समेत गरिने फाउन्डेसनका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।













