काठमाडौं, रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । नेपाल प्रहरीका अनुसार, पहिरोमा परेकाहरु मध्ये तीनजना बेपत्ता छन् । बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी छ । पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते छन् ।
पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुनमगर, अन्दाजी ६० वर्षीय कमलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुनमगर र ८५ वर्षीय हस्तकला रोकामगर छन् । त्यस्तै, सात वर्षीय अशोक पुनमगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीय मनि पुनमगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुनकुमारी पुनमगर र ८० वर्षीय बलबहादुर पुनमगरको पनि पहिरोमा परेर मृत्यु भएको छ ।
यसैबीच प्युठानको स्वर्गदारी नगरपालिका–९ माडी खोलाको भिन्नभिन्न स्थानमा फेला परेका पाँचमध्ये तीन शव रोल्पा पहिरोमा परेर बेपत्ता भएकाहरुको रहेको खुलेको छ । रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा गएराति गएको पहिरोमा पुरिएर १० जना वेपत्ता भएका थिए । पहिरोमा परेर मृत्यु भएका ७१ वर्षीया मनरखी पुन मगरको शव भने बुधबार नै फेला परेको थियो । उक्त पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर थिए।

बेपत्ता हुने अन्यमा ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेकोमा बिहीबार प्युठानमा फेला परेका शवमध्ये तीनजनाको शव सोेही पहिरोमा परेकाहरूको रहेको पुष्टि भएको प्युठान प्रहरी प्रमुख डीएसपी नरहरि अधिकारीले जानकारी दिए । उनले भने, “पाँचवटा शवमध्ये तीन शव रोल्पा पहिरोकै रहेको पुष्टि भएको छ । थप दुईवटा शवको भने सनाखत हुन बाँकी छ ।”















