पोखरा, पोखरा महानगरपालिका –८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन अनुष्ठान शुरुभएको छ । आगामी भदौ १९ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. – ८ का वडाध्यक्ष रुद्रनाथ बरालले गरेका थिए । एक महिनासम्म निरन्तर सञ्चालन हुने यस आध्यात्मिक कार्यक्रममा प्रमुख वाचकका रूपमा साधक राज रसिक महाराजले रसमयी कथा प्रवचन तथा बीतक चर्चा प्रस्तुत गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
त्यस अबसरमा बोल्दै वडाध्यक्ष बरालले मन्दिरमा वार्षिक रूपमा आयोजनागर्दै आएको श्रीमद्बीतक चर्चाले समाजमा आध्यात्मिक जागरण ल्याउनुका साथै आत्मिक शान्तिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरको पुनर्निर्माण र संरक्षणमा पोखरा महानगरपालिका वडा नं. ७ र ८ ले विगतदेखि नै निरन्तर सहयोग पुर्याउंदै आएको स्मरण गर्दै उनले आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले महानगरभित्र अनेकौँ कृष्ण मन्दिरहरू रहे तापनि रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरले निरन्तर रूपमा एक महिने लामो श्रीमद्बीतक चर्चा तथा कथा प्रवचनको आयोजना गर्नु आफैँमा चुनौतीपूर्ण र प्रशंसनीय कार्य भएको बताए । उनले पनि वडाको तर्फबाट आवश्यक सहयोग सदैव रहने विश्वास दिलाए ।
आध्यात्मिक कार्यक्रममा प्रमुख वाचक साधक राज रसिक महाराजले श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथाबाट आफ्नो मनलाई शान्ति बनाउन र परिवर्तन गराउन भुमिका खेल्ने भएकाले यसमा सहभागी बनेर लाभ लिन आग्रह गरे ।
श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले विगतका वर्षहरूको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि महिनाव्यापी अनुष्ठान आयोजना गरिएको उल्लेख गर्दै अघिल्ला वर्षहरूमा जस्तै यस पटक पनि सम्पूर्ण भक्तजनहरूबाट उदार सहयोग र साथको अपेक्षा गरिएको बताए ।
श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहमा श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका जिल्ला अध्यक्ष कृष्ण ढुंगाना, बाइजूराज जिल्ला अध्यक्ष रुकमिना बराल, कार्यक्रम संयोजक प. लीलामम्बर सापकोटा तथा प्रशासनिक उपाध्यक्ष गोपाल ठकुरी लगायतका वक्ताहरूले अनुष्ठानको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन मन्दिर समितिका सचिव लक्ष्मण बरालले गरेका थिए ।















