पोखरा, पोखराको सामुदायिक क्याम्पस जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययनको लागि आएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्नुका साथै राष्ट्रियस्तरको सुन्दरी प्रतियोगिताका विजेता विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीद्वारा शैक्षिक सत्र- २०८३ का नवआगन्तुक विद्यार्थीको स्वागतार्थ आयोजना गरिएको कार्यक्रममा टियारा इन्टरटेनमेन्टद्वारा आयोजित ‘टिन फेस अफ पोखरा २०२६/२०२७’ प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका जनप्रियका विद्यार्थी विशाखा गिरी र पुजना थापालाई क्याम्पसका तर्फबाट विशेष सम्मान गरिएको थियो ।
त्यस अबसरमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारीले जनप्रिय बहुमुखी क्याम्पसले स्थापनाकालदेखि नै विद्यार्थीको शैक्षिक उन्नयन, गुणस्तरीय शिक्षा र व्यक्तित्व विकासमा उल्लेखनीय योगदान पुर्याउंदै आएको बताए । ‘आजको आवश्यकता अनुरूप क्याम्पसमा रेडक्रस सर्कल गठन गरी सामाजिक सेवाका गतिविधि विस्तार गर्नुपर्छ,’ उनले भने, ’खेलकुद, सिर्जनात्मक तथा रचनात्मक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै विद्यार्थीको चौतर्फी विकासका लागि क्याम्पस अझ सक्रिय रहनेछ ।’

क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीको हरेक शैक्षिक गतिविधिमा क्याम्पस सधैं साथ रहने बताए अध्ययनका क्रममा आइपर्ने समस्या समाधान गर्न र सपना साकार पार्न आवश्यक सहयोग तथा अवसर उपलब्ध गराउन क्याम्पस निरन्तर लागिपर्ने बताउंदै बरालले विद्यार्थीलाई अनुशासित भएर अध्ययन गर्नसमेत आग्रह गरे ।
विद्यार्थी हित शाखाका प्रमुख वेदहरि तिमिल्सिनाले अनुशासन, सकारात्मक सोच, गुणस्तरीय शिक्षा र प्रविधियुक्त जीवनको महत्वबारे प्रकाश पारेका थिए भने अर्थशास्त्र विभाग प्रमुख शिलु चालिसेले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि क्याम्पस निरन्तर प्रतिबद्ध रहेको बताइन् । कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई खादा, माला र मायाको चिनो प्रदान गरी स्वागत गरिएको थियो । सोही अवसरमा नयाँ कक्षा मोनिटर हरूलाई ब्याच वितरण गरियो ।
कार्यक्रममा प्रतिक्षा नेपाली, आस्मा अधिकारी, खुशी गोदार र समीक्षा सुनारले एकल नृत्य प्रस्तुत गरेका थिए । सपना क्षेत्री र मन्दिप पोखरेल सहितको टोलीले नेवारी सांस्कृतिक समूह नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रममा विभिन्न समूहले सांस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरी समारोहलाई आकर्षक बनाएका थिए ।

विद्यार्थीका तर्फबाट कक्षा ११ विज्ञानकी सुबेक्षा श्रेष्ठ र कक्षा १२ की विद्यार्थी दीपिका अर्यालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम संयोजक मदनराज जैसीले आगामी दिनमा पनि विद्यार्थीको नेतृत्व विकास र क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । प्लस टु कार्यक्रम संयोजक मदनराज जैसीको सभापतित्व र क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी मन्दीप पोख्रेल र प्रतिक्षा पौडेलले संयुक्त रूपमा गरेका थिए ।















