Play

एक दशकपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिबेशन हुँदै, अध्यक्षमा दाहालको उमेदवारी घोषणा

गुरुकुल खबर


अमेरिका, अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका गौतम दाहालले नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न अधिबेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन । जनसम्पर्क मेरिल्याण्ड च्याप्टरका पदाधिकारीहरु, स्थानीय संघसंस्थाका प्रतिनीधिहरु,गैर आवासीय नेपाली संघका प्रतिनिधि समेतको उपस्थितिमा बाल्टिमोरमा दाहालले उमेदवारी घोषणा गरेका हुन । उनि आसन्न अधिवेशन तयारी समितिका सदस्य सचिव समेत हुन्।

बिदेशमा रहेर पनि नेपाली काँग्रेसमा आस्था राख्नेहरुको संगठनको रुपमा स्थापित नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिबेशन एक दशकपछि यहि आगामी अगष्ट १४, १५ र १६ गते अमेरिकाको भर्जिनियामा हुँदैछ। जनसम्पर्क समिति अमेरिकामा यस अगाडी सम्पन्न दोश्रो अधिबेशनबाट आनन्द बिष्ट अध्यक्षमा निर्बाचित भएका थिए। समिति भित्रको आन्तरिक बिबाद र नेपाली काँग्रेसको केन्द्रको स्पष्ट निर्देशनको अभावमा समितिको अधिबेशन हुन नसकेको अबस्थामा यस पटक भने अधिबेशन हुने निश्चित जस्तै छ। यस अगाडिका अध्यक्ष बिष्ट यस अगाडी पश्चिम नेपालमा प्रतिनिधिसभा सदस्यको चुनाबमा उमेदवार बनेको थिए भने उनि नेपाली काँग्रेसको केन्द्रीय आमन्त्रित सदस्य समेत बनेका थिए।

यसपटकको अधिबेशनबाट अध्यक्ष बन्नका लागि धेरैले चाहना गरेको भएपनि औपचारिक रुपमा उमेदवारको घोषणा भने दाहालले मात्र गरेको बुझिएको छ । पूर्वी नेपालको ओखलढुंगामा जन्मिएका दाहाल विद्यार्थी जीवनबाट राजनीतिमा लागेका हुन। नेपाल विद्यार्थी संघ ओखलढुंगाको जिल्ला सदस्य, नेपाल विद्यार्थी संघ ओखलढुंगा- काठमाडौ सम्पर्क समितिको सभापति समेत भएर काम गरिसकेका दाहाल तत्कालीन अर्थ राज्यमन्त्री गोपाल राइको प्रेस सल्लाहकार समेत बनेका थिए। नेपालमा रहंदा बिभिन्न संचाहर संस्थामा रहेर पत्रकारितामा क्रियाशील दाहाल अमेरिका पुगेपछि नेपाल अमेरिका पत्रकार संघको अध्यक्ष रहेर काम गरेको छन। उनले बाल्टिमोरमा रहेका नेपालीहरुको संस्था बानाको महासचिव समेत रहेर काम गरेको अनुभव छ।

बिगत दुई दशकदेखि अमेरिकामा बस्दै आएका दाहालले नेपाली जनसम्पर्क समिति अमेरिकाको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन। हाल कांग्रेस महासमिति सदस्य समेत रहेका दाहाल यस अगाडी आनन्द बिष्ट नेतृत्वको जनसम्पर्क समितिमा प्रचार विभाग प्रमुख र प्रवक्ता थिए । उनले एनआरएन आइसीसीको भाषा,साहित्य सम्वर्द्धन समितिमा समेत रहेर पनि काम गरेका छन्।

आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा उनले सांगठिनक संरचनालाई मजबुत बनाउने, नेपाल र अमेरिका वीच नागरिकस्तरको सम्वन्ध विस्तार गर्ने, दोश्रो पुस्तालाई विभिन्न फोरमहरुमा सक्रिय वनाउने जस्ता एजेन्डा अघि सारेका थिए। उनले आर्थिक अनुशासन र पारदर्शीतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउंदै यस मामिलामा कुनै सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे।

‘म मेरो कार्यकालमा कुनै प्रश्न नउठ्ने गरी काम गर्नेछु, मेरा हातहरु सफा छन् र सफा नै राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’ संस्थागत सुशासन, विधान सम्मत कार्ययोजना र आर्थिक विवरणलाई थप पारदर्शी वनाएर चुस्त संगठन निर्माणमा योगदान दिने कुरा पनि दाहालको एजेण्डामा समावेश छ। अमेरिकामा वसेर विभिन्न क्षेत्रमा ख्याति कमाएका, अनुभवी व्यक्तित्वहरुको समेत सहभागिताामा थिङ्क टयांक (बौद्धिक समूह) स्थापना गरेर विभिन्न विषयमा औपचारिक धारणाहरु समेत सार्वजनिक गरिने उनले जनाएका छन ।

उनले अमेरिकाको विभिन्न तहको सरकारमा रहेका नेपाली मूलका निर्वाचित अमेरिकी प्रतिनिधिहरुसंग मिलेर नेपालको हितको पक्षमा वकालत गर्ने र संघीय संसदको तहमा विगतमा क्रियाशील रहेको नेपाल सरोकार समूह (नेपाल ककस) लाई पुन: सक्रिय बनाउन लबिङ्ग गर्ने प्रतिवध्दता समेत जनाएका छन्।

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमंत्री वीपी कोइरालाको अर्धकदको शालिकलाई आफ्नो कार्यकालमा अमेरिकाको कुनै सार्वजनिक पार्क वा स्थानमा राख्नको लागि पहल गर्ने, नेपालीहरुको पहुँच र प्रभाव रहेको विभिन्न राज्यको समुदायमा स्थानीय बाटो र गल्लीहरुको नाम नेपालको नाममा राख्न स्थानीय एबम राज्य सरकारसंग समन्वय गर्ने र समितिका च्याप्टरहरुलाई वार्षिक क्यालेन्डर बनाएर कार्यतालिका अनुसार काम गर्नुपर्ने गरी योजना बनाउने एजेन्डा समेत दाहालले सार्वजनिक गरेका छन्।

दाहालको उमेदवारी घोषणा कार्यक्रममा एनआरएन आइसीसीका संस्थापक उपाध्यक्ष डा श्याम कार्की , एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा अर्जुन वन्जाडे, एनआरएन आइसीसीका सचिव कृष्णजीवि पन्त, एनआरएन आइसीसी सदस्य दुर्गाप्रसाद श्रेष्ठ, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व केन्द्रीय सदस्य गोपाल विश्वकर्मा, नेपाली कांग्रेस स्याङ्गजाका सल्लाहकार एवं एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष जेदु पोख्रेल, जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका अध्यक्ष नेत्र केसी, एनआरएन आईसिसिका पूर्व सदस्यद्वय शिवराज पौडेल र डोलनाथ घिमिरे लगायतले दाहाललाई शुभकामना प्रकट गरेका थिए  ।

जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका संस्थापक अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्वतकी नेतृ एबम महासमिति सदस्य मुना लामिछाने, जनसम्पर्क समितिका निवर्तमान सल्लाहकार आनन्दकृष्ण घिमिरे, जय नेपाल फाउण्डेशन मेरिल्याण्ड राज्यका अध्यक्ष केशव शर्मा, म्याग्दी अन्तर्राष्ट्रीय नेपाली समाज मोनाका पूर्व अध्यक्ष अमर छन्त्याल, पत्रकारद्वय तरुण पौडेल र मधुकर अधिकारी, जनसम्पर्क समितिका केन्द्रीय प्रतिनिधिहरु मुकुन्द दाहाल, मोहन वानिया, भुवनेश्वरी बन्जाडे,साहित्यकार तीर्थराज पाण्डेय, स्टार स्कलर्सका अध्यक्ष डा उत्तम गौली, भीम विके, वानाका अध्यक्ष जितेन्द्र गुरुङ्ग, वरिष्ठ उपाध्यक्ष जनक थापा, धादिङ्ग समाजका उपाध्यक्ष वद्रि खतिवडा लगायतले पनि दाहाललाई अध्यक्षको पदमा निर्बाचित हुन शुभकामना प्रकट गर्नुको साथै सहयोगको आश्वासन दिएका थिए ।

१५ श्रावण २०८३, शुक्रबार ०८:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा