पोखरा, पत्रकार महिलाहरुको संस्था संचारिका समूह गण्डकी प्रदेशको आयोजनामा पोखरामा महिला पत्रकारहरूका लागि दुई दिने ‘आध्यात्मिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण’ कार्यक्रम शनिबारदेखि पोखरामा सुरु भएको छ । आइतबारसम्म चल्ने उक्त प्रशिक्षणमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३७ जना महिला पत्रकारहरूको सहभागिता रहेको संचारिका समूह गण्डकीकी अध्यक्ष राधिका कंडेलले गुरुकुल खबरलाई जानकारी दिईन।
कार्यक्रममा तनाव व्यवस्थापन तथा स्व–हेरचाह (सेल्फ केयर) का बारेमा विशेष प्रशिक्षण दिँदै वरिष्ठ पत्रकार बबिता बस्नेतले व्यस्त र तनावपूर्ण पत्रकारिता जीवनमा आफूले आफूलाई सम्हाल्न सक्नु’ नै सबैभन्दा उत्तम उपाय भएको बताइन् । उनले थपिन्, ‘हामीले पहिले आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ, अनि मात्र हामीले समाजलाई सही दिशा दिन सक्छौ ।’ ‘जबसम्म पत्रकारको मस्तिष्क शान्त, सन्तुलित र केन्द्रित हुँदैन, तबसम्म उसले समाजलाई दिने सूचना पनि पूर्ण रूपमा सन्तुलित हुन सक्दैन,’ उनले भनिन् ।
ब्रह्माकुमारी मञ्जु राउत (मञ्जु दिदी) ले प्रशिक्षण दिने क्रममा आध्यात्मिकता र जीवन जिउने कला जस्ता विषयमा प्रशिक्षण दिइन् । ‘महिला पत्रकार र आध्यात्मिक सशक्तीकरण’ विषयमा केन्द्रित रहेर उनले महिलाहरूलाई आत्मविश्वासी, सक्षम र आत्मनिर्भर बनाउन आन्तरिक आत्मिक शक्ति (सोल पावर) जागृत गराएर समाजमा बलियो व्यक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइन् ।

उनले महिला पत्रकारहरू केवल समाचार लेखक वा वाचक मात्र नभएर समाज परिवर्तनका संवाहक समेत भएकाले अब आध्यात्मिक र मानसिक स्वास्थ्यका विषयमा खुलेर लेख्न र आवाज उठाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रमको शुभारम्भका अबसरमा गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले परिस्थिति अनुसारको मनस्थिति बनाउन आध्यात्मिक ज्ञानको ठुलो आवश्यकता रहेको औंल्याइन् । अब सरकारले समेत स्वास्थ्य क्षेत्रमा काउन्सिलरहरू राखेर काम गर्नुपर्ने बताइन् । प्रतिस्पर्धी समाजमा नकारात्मक सञ्जालमा नलागी एकआपसमा एकता कायम गरी कार्यक्षमतालाई निखार्नुपर्ने उनको भनाइ थियो ।
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशका अध्यक्ष राधिका कँडेलले कार्यक्रमले महिला पत्रकारहरूको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूको मानसिक स्वास्थ्यलाई सबल बनाउन ठुलो सहयोग पुग्ने बताइन् । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालयको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
















