पोखरा, नेपाली कांग्रेसका नेता एबम पुर्व मन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको १५ औं महाधिबेशन निष्पक्ष रुपमा सम्पन्न हुने बाताबरण तयार गर्न आबश्यक रहेको भन्दै १४ औं महाधिबेशनबाट निर्बाचित कार्यसमिति र बिशेष महाधिबेशनबाट निर्बाचित कार्यसमितिको बिचमा एउटा साझा संयन्त्र बनाउनुपर्ने कुरामा जोड दिएका छन।
‘फाटफुट भेटघाटबाट पूर्ण एकता सम्भव हुँदैन, तसर्थ १५ औं महाधिबेशनको निश्पक्षता, सहभागिता र स्वामित्व सबैले लिने बताबारण तयार गर्न साझा संयन्त्र निर्माण गरेर बिधान संसोधन र क्रियाशील सदस्यता बिबादको टुंगो लगाउंदै महाधिबेशन प्रक्रिया अगाडी बढाउन आबश्यक छ।’ डा. महतले बिहिबार आंफ्नो निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने।
कांग्रेस निर्बाचनपछि चुनौतीपूर्ण अबस्थाम रहेको भन्दै महतले देशभर बिशेष महाधिबेशन र १४ औं महाधिबेशनको बिषयले कार्यकर्तामा मनोबैज्ञानिक असर परेको कारण बृहत्तर एकता आबश्यक रहेकोमा जोड दिए । हाल आधिकारिकता प्राप्त गरेको गगन थापा नेतृत्वको समिति जिम्मेवार बनेर पार्टीमा बृहत्तर एकता कायम गर्न जरुरी रहेकोमा उनको भनाई छ।
‘पार्टीको क्रियाशील सदस्यता डिजिटल रुपमा अधाबधिक गर्नमा कसैलाई आपत्ति छैन, तर १५ औं महाधिबेशनको लागि भनेर सदस्यता नबिकरण गरिसकेका साथीहरुलाई स्वत: अधाबधिक गर्नुपर्यो, पहिले गगन जी महामन्त्री हुँदा वहाँ संयोजक रहेर सदस्यता नबिकरण प्रक्रिया अगाडी बढेको हो तसर्थ ति साथीहरुलाई अहिले सदस्यता अधाबधिक नगरे पार्टीमा रहन्नौ भन्नु दुखद हो।’ कांग्रेस नेता महतले पत्रकारसामु भने।
पार्टीभित्र बृहत्तर एकता हुन नसके नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय शक्तिका रूपमा कांग्रेसको पुनःउत्थान कठिन हुने बताएका छन्। नेता महतले निर्वाचनपछि पार्टी संसद्मा सीमित सङ्ख्यामा खुम्चिएको र पार्टीको परम्परागत जनाधार समेत खस्किएकाले अहिले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको बताए।
‘अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको पार्टीको बृहत्तर एकता हो। यो बृहत्तर एकता भएन भने कांग्रेसलाई पुनःस्थापित गर्ने हाम्रो अभियान कमजोर हुन्छ,’ डा. महतले भने, ‘यसका लागि विशेष महाधिवेशनबाट प्राविधिक रूपमा आधिकारिकता प्राप्त गर्नुभएका गगनजीहरूबाट गम्भीर पहल हुन जरुरी छ।’
वर्तमान नेतृत्वबाट ठोस र जिम्मेवार कदम चालिनसकेका कारण पार्टीमा नयाँ ऊर्जा थपिन नसकेको र देशैभरिका कार्यकर्ताहरूमा विचलन देखिएको उनको दाबी थियो। नेतृत्व तहबाटै भरोसा र विश्वास जगाउन नसक्दा कतिपय साथीहरूले पार्टी छाड्न थालेको र कतिपय निष्क्रिय बस्ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे।
नेता महतले अब कांग्रेससँग अलमलिने समय धेरै नभएको चेतावनी समेत दिए। ‘फाट्टफुट्ट र अनौपचारिक भेटघाटबाट मात्र सबैलाई समेटेर लैजाने यो एकता अभियानले पूर्णता पाउन सक्दैन,’ उनले थपे, ‘यसका लागि तत्कालै एउटा गम्भीर र सघन छलफल हुनुपर्दछ र चाँडोभन्दा चाँडो निष्कर्ष निकालेर पार्टीलाई गति दिनुपर्छ।’
















