पाेखरा, भारतको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । पाँच दिने भारत भ्रमणका क्रममा लामिछानेले मोदीसँग भेटघाट गरेका हुन् । उक्त भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेशमन्त्री डा. एस जयशंकर लगायतको उपस्थिति रहेको थियो ।
करिब एक घण्टा लामो भेटघाट पछि राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्नेमा जोड दिएको उल्लेख गरेका छन । लामिछानेले आफ्नो एक्समा प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्दै नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिएको बताएका छन् ।
भेटघाटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा निकै खुसी लागेको र साझा र समृद्ध भविष्यका लागि नजिक रहेर सँगै काम गर्ने उहाँको चाहनालाई आंफुले स्वागत गर्ने उल्लेख गरेका छन । ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता प्राप्त साझेदार हो र हाम्रा दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन हामी नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं ।’ मोदीले भनेका छन।
लामिछाने र मोदी बिचको भेटघाट लगायत भ्रमणको बिषयमा जानकारी दिंदै लामिछानेको भ्रमण दलका सदस्य एबम प्रतिनिधिसंभा सदस्य दिपक बोहराले भारतले लामिछानेलाई उच्च सम्मान दिएको बताए। ‘पछिल्लो २० बर्षमा तत्कालिन प्रधानमन्त्री कोइरालालाई दिएको जस्तो उच्च सम्मान रास्वपा सभापति लामिछानेलाई भारतले दिएको छ’ उनले भने । लामिछानेले बिहिबार दिल्लीमा रहेका प्रवासी नेपालीहरुको भेलालाई सम्बोधन गर्ने भएको छन रास्वपाको प्रवासी नेपाली विभागले कार्यक्रमको आयोजना गरेको बताइएको छ














