काठमाडौँ, विश्वभर १४ लाखभन्दा बढी साधक तथा सेवाग्राहीहरूलाई १४ भाषा मार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा “गीता मैत्री मिलन कार्यक्रम २०८३” आयोजना गर्ने भएको छ । यहि वैशाख २७ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल काठमाडौँमा हुने उक्त कार्यक्रम सफल बनाउन गीता परिवार नेपालका संस्थापका एवम् संरक्षक जय किशन सारडाको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ
यसैगरी संस्थाका अध्यक्ष सारिका अग्रवाल र सचिव राम प्रसाद अधिकारीसहित पदाधिकारीहरु, गीता प्रशिक्षक, गीतासेवीहरु रहेका विभिन्न समिति, उपसमिति गठन गरी कार्यक्रमको तयारी अगाडी बढाइएको छ । आध्यात्मिक तथा नैतिक जागरणलाई केन्द्रमा राखेर आयोजना हुन लागेको उक्त कार्यक्रमले नेपालमा गीता चेतनाको विस्तार गर्ने अपेक्षा गरिएको आयोजकको भनाई छ। श्रीमद्भगवद्गीताको शाश्वत ज्ञानलाई आधुनिक र सरल माध्यमबाट जनमानससम्म पुर्याउने उद्देश्यले सञ्चालन हुँदैआएको यस किसिमको अभियान विश्वव्यापी रूपमा फैलिरहेको छ।
वि.सं. २०७७ मङ्सिर ३ गते (पाण्डव पञ्चमी)को दिन स्थापना भएको गीता परिवार नेपालमा हाल १५ हजारभन्दा बढी सेवी प्रत्यक्ष रूपमा आबद्ध छन। काठमाडौँमा हुने कार्यक्रममा करिब १ हजार ५ सयजनाको सहभागिता रहने भए पनि यूट्युब, जुम लगायत अनलाइन माध्यममार्फत लाखौँले प्रत्यक्ष अवलोकन गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
गीता परिवार नेपालको आयोजनामा सम्पन्न हुने कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्ददेव गिरि महाराज सहभागी हुने बताइएको छ। त्यसैगरी कार्यक्रममा डा. आशूजी गोयल (अन्तर्राष्ट्रिय कार्याध्यक्ष—गीता परिवार एवं प्रोग्राम कोअर्डिनेटर—लर्न गीता) लगायत गीता परिवारका उच्च पदाधिकारी तथा साधकहरूको पनि सहभागिता रहने जनाइएको छ।
“गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रम अन्तर्गत बिहान कमलादी गणेशस्थान बाट शोभायात्रा सुरु भई प्रज्ञा भवन पुगेर मूल सभाको शुभारम्भ गरिनेछ। नेपालको भौगोलिक विकटता र प्राविधिक चुनौतीका बाबजुद गाउँ–बस्ती तथा नगरसम्म गीता चेतना विस्तार गर्नु नै अभियानको मुख्य लक्ष्य रहेको आयोजकको भनाइ छ।
- बिमल सुबेदी














