काठमाडौँ, बालेन्द्र शाह नेतृत्वको बर्तमान सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको उपाध्यक्षमा नियुक्त भएका भट्ट नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बन्नको लागि दौडमा लागेको र उनको नियुक्ति निश्चित जस्तै देखिएको भएपनि अन्तिम समयमा उनलाई तत्कालीन सरकारले गभर्नर बनाएको थिएन ।
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार र प्रधानमन्त्री केपी ओली रहेको बेला राष्ट्र बैंकको गभर्नर राजनीतिक भागबण्डाको आधारमा नेपाली कांग्रेसको भागमा परेको र उनलाई गभर्नर बनाउने बचन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएका थिए । तर तत्कालीन प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवाको कुरा स्वीकार नगर्दा काँग्रेसले भट्टलाई नभई प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नरमा सिफारिस गर्नुपरेको थियो ।
राष्ट्र बैंकमा २५ वर्ष बिताएका, मौद्रिक अर्थशास्त्रका विज्ञ र स्वच्छ छविका धनी डा. भट्ट गभर्नर बन्ने लगभग निश्चित देखिएको बेला कांग्रेस र एमालेको आन्तरिक राजनीतिको शिकार बनेका उनै भट्टलाई रास्वपाको बालेन्द्र नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको रूपमा सिंहदरबार भित्र्याएको हो ।
को हुन् डा. गुणाकर भट्ट ?
योजना आयोगको उपाध्यक्षमा नियुक्त डा. भट्ट सुदूरपश्चिमको डोटी जिल्ला, शिखर नगरपालिकाका स्थायी बासिन्दा हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक सहित मास्टर्स गरेका उनले अमेरिकाको प्रतिष्ठित विलियम कलेजबाट मास्टर्स र वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका छन् ।राष्ट्र बैंकको विभिन्न जिम्मेवारीमा रहेर २५ वर्षे काम गरिसकेका उनले राष्ट्र बैंकका रहँदा पटक–पटक प्रवक्ताको जिम्मेवारी लिए । त्यस्तै, बैंक नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणाली र राष्ट्र ऋण व्यवस्थापन जस्ता महत्त्वपूर्ण विभागको नेतृत्व गरे ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेसँगै अब उनको काँधमा देशको समग्र विकासको खाका कोर्ने जिम्मेवारी आएको छ । मौद्रिक नीतिमा विज्ञता हासिल गरेका भट्टले अब वित्त नीति र विकास नीतिबिचको खाडल पुर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यस अगाडि सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार रहँदा प्रकाश कुमार श्रेष्ठ योजना आयोगको उपाध्यक्ष थिए ।
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित
यसैबीच सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले पण्डितलाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बनाउने निर्णय गरेको हो ।














