काठमाडौँ, फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्बाचनबाट बनेको संघीय संसद्को पहिलो संसद अधिवेशन बिहीबारदेखि हुने भएको छ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १९ गते बिहीबारको लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) मा लेखिएको ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नेछ । त्यसपछि यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ ।’ भन्ने ब्यबस्था बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिबेशन आव्हान गरेका हुन ।
‘निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशनमा राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको कारण यस अधिबेशनमा राष्ट्रपति पौडेलले पनि सम्बोधन गर्नेछन । बिहिबार शुरु हुने अधिबेशन कहिले सम्म चल्ने भन्ने बिषय भने टुंगिएको छैन बिहिबार शुरु हुने अधिबेशनलाई लम्ब्याएर आगामी आर्थिक वर्षको बजेट पनि यहि अधिबेशनमा प्रस्तुत गर्ने कि सभामुख र उपसभामुखको निर्वाचन लगायतका कार्य गरी छोटो समयमै अधिवेशन टुंग्याउने भन्नेबारे भने सरकारले केही निर्णय गरेको छैन । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत यहि अधिबेशनमा प्रस्तुत गर्नेहो भने जेठ १५ सम्म अधिबेशन लम्ब्याउनुपर्ने भएकोले सरकारले यस बिषयमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम चैत ५ मा घोषणा गरिएको थियो । रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह १३ चैतमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यही दिन १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । मन्त्रिपरिषद्को दोस्रो बैठकले सोमबार संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
यसपटकको संसद अधिबेशनबाट प्रतिनिधिसभामा सभामुख र उपसभामुखको निर्वाचन हुनेछ । संविधानको धारा ९१ मा ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने’ व्यवस्था छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानमा लेखिएको छ, ‘तर प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।’
प्रतिनिधिसभाको सभामुख रास्वपाले पाउने निश्चित भएको छ । तर सभामुख कसलाई बनाउने भन्ने निर्णय पार्टीले गरिसकेको छैन । रास्वपाका नेताहरूका अनुसार सभामुखको सम्भावित उम्मेदवार उपसभापति तथा पूर्वमन्त्री डीपी अर्याल हुन् । निर्णय भने संसद् बैठक बसेर सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढेपछि मात्रै हुने उनीहरूको भनाइ छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसद हुन् । उनलाई म्याग्दीमा रास्वपाले समर्थन गरेको थियो ।
सभामुखको निर्वाचनसँगै प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नयाँ नियमावली बनाउने वा २०७९ को प्रतिनिधिसभा नियमावली संशोधन गर्ने कार्य हुन्छ । त्यस्तै, संसदीय सुनुवाइ समिति गठन हुन सक्ने सरकार र संसद्का अधिकारीले जानकारी दिएका छन् । संविधानको धारा २९२ (१) मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायमा प्रमुख वा पदाधिकारी र राजदूतमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुने व्यवस्था छ ।
संसद्को पहिलो अधिवेशनमै विधेयक पनि पेस गर्ने सम्भावना रहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जानकारी दिएकी छन् । ‘बजेट अधिवेशनको संघारमा पनि छौं । यो अधिवेशनमा सरकारले विधेयक लैजाने कि नलैजाने भन्नेबारे छलफल गर्न बाँकी छ । पहिलो अधिवेशनमा प्रारम्भिक रूपमा नियमावली निर्माण, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ,’ उनले भनिन्, ‘यीबाहेक संसद्लाई थप बिजनेस दिनुपर्ने अवस्था आए मन्त्रालयहरू तयारी अवस्थामै छन् । प्राथमिकता र आवश्यकता हेरी संसद्लाई पर्याप्त बिजनेस दिइनेछ ।’
१३ चैतमा भएको मन्त्रिपरिषद्को पहिलो बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा केही कानुन निर्माण गर्ने उल्लेख छ । सरकारले त्यसका लागि पनि विधेयक ल्याउने सम्भावना छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् अधिवेशनका लागि तयारी भइरहेको जानकारी दिए । अधिवेशन आह्वान गरेसँगै सांसदहरूलाई काठमाडौं आउन सूचना जारी गरिएको उनले बताए ।
निर्वाचन पछाडि संसद् अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गर्ने सम्भावना रहेको उनको भनाइ छ । त्यसका लागि सभामुखका हैसियतमा कार्य सञ्चालन गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको छ । अघिल्लो संसद् र यो संसद्को बीचमा सरकारले जारी गरेका अध्यादेश पनि प्रतिनिधिसभाको पहिलो बैठकमा पेस हुने सहसचिव गिरीले जानकारी दिए ।















