काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी ओलीलाई शनिबार बिहानै निवासबाट पक्राउ गरिएको घटनाको बिरोध गर्दै एमालेको सचिवालय बैठकले संघर्षका कार्यक्रम तय गरेको छ । ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित संघर्षका कार्यक्रम तय गरेको हो ।
बैठकले आम जनसमुदाय र नागरिक समाजले दृढताका साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, शनिबार प्रत्येक जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि चैत १५ गते आइतबार १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोध पत्र बुझाउने लगायतका संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

नेता बस्नेतका अनुसार आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग अनि नागरिक समाज र आम जनसमुदाय संग सम्बाद र सहकार्य गर्नेनिर्णय बैठकले गरेको छ
ओली र लेखकको पक्राउको घटना ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह’को पराकाष्ठा- तरुण दल
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री एबम नेपाली काँग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेको घटनाको नेपाल तरुण दलले भर्त्सना गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह’को पराकाष्ठाको संज्ञा दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नुका साथै देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराएको छ।’ तरुण दलले वर्तमान सरकारलाई आफ्ना निर्णयहरू पुनर्विचार गर्न र विधिको प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढङ्गले अघि बढ्न चेतावनी दिएको छ।
राजनीतिक सहिष्णुता कायम राख्न र देशको स्थायित्वका लागि गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराइएको उक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको स्थायित्व, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नु सबै पक्षको साझा दायित्व हो। शान्ति, स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सम्पूर्ण राजनीतिक सक्तीहरूबिच सहकार्य र संवाद आवश्यक छ।’ तरुण दलले राष्ट्रलाई अस्थिरतातर्फ लैजाने कुनै पनि गतिविधिको सशक्त विरोध गर्ने प्रतिबद्धता व्यक्त गर्दै विधिको शासनको पक्षमा आफू सधैँ उभिने स्पष्ट पारेको छ।

















