रौतहट, रौतहटको सदरमुकाम गौर नगरपालिका-६ सवगढामा शनिबार दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु लगाएको हो । ३ दिनअघि जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । सोहि कारणले शनिवार गौरमा निरन्तर झडप भइरहेको थियो ।
फागुन ८ बाट इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम धर्मावलम्बीहरू एक महिनासम्म दिनभरि निराहार व्रत बसेर नमाज पढ्ने गर्छन् । मुस्लिमहरू नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गर्छन् । यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । नमाज पढिरहेको समयमा हिन्दु समुदायका मानिसहरु जन्तीको रुपमा बाजागाजा गर्दै सोहि बाटोबाट गएपछि बिबादले उग्ररुप लिएको हो ।
दुई समूहको बिचमा झडप हुँदा गौरमा ३ वटा गाडी र दुईवटा मोटरसाइकलमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए । उनले भने, ‘शुक्रवार पनि झडप भएको थियो ।’ गौर नगरपालिका–६ स्थित सवगडा गाउँका दुई समूहबिच दुई दिनदेखि लगातार झडप भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आक्रोशित समूहले गौर स्थित एउटा पेट्रोल पम्पमा पनि तोडफोड गरेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले झडपले अवस्था तनवग्रस्त बनेपछि दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको बताए । ‘हामी अवस्था नबिग्रियोस् भनेर कर्फ्यु लगाएका छौं,’ उनले भने, ‘अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’
प्रजिअ भुसालका अनुसार सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यु आदेश जारी भएको छ । केही समयअघि झडपको क्रममा एउटा सवारीसाधनमा आगजनी भएको थियो । त्यसपछि अवस्था तनावग्रस्त बनेको हो । शुक्रबार दुई समूहबीच झडप भएपछि प्रजिअ भुसालको पहलमा साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो।
शनिबार बिहान करिब ९ बजेदेखि पुन ढुंगामुढा हुन थालेपछि स्थिति तनावपूर्ण बनेको हो। झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ। वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आसन्न निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्नेलगायत ६ बुँदे प्रतिबद्धता गरिएको प्रशासनले जनाएको थियो।














