Play

पोखरा देखि अर्मलाकोटसम्म १२ किमीको पर्वतीय दौडसहित भलिबल र ठेलो फाल्ने प्रतियोगिता सम्पन्न

दौडमा खुल्लातर्फ सुभाष, महिलातर्फ लाक्पा निमा र वडातर्फ महेन्द्र र सादगी बिजेता, भलिबलमा मौजा युवा क्लब र ठेलोमा वृत्तसिंहलाई उपाधि


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाको केआईसिंह पुलबाट अर्मलाकोट सम्म १२ किमीको दुरीमा गरिंदै आएको १० औँ संस्करणको अर्मलाकोट पर्वतीय खुल्ला १२ किलोमिटर दौड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत खुल्ला तर्फ पर्वतका सुवास गुरुङले ५० मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम स्थान हासिल गर्न सफल भए।

त्यसैगरी काठमाडौंका टंक कार्कीले ५० मिनेट २८ सेकेन्डमा उक्त दुरी पूरा गरी दोस्रो र तनहुँका टोपबहादुर कुमालले ५० मिनेट ४७ सेकेन्डमा  दौड पुरा गरेर तेस्रो स्थान प्राप्त गर्न सफल भए । सिन्धुपाल्चोकका मिङमार सिङ्गी तामाङले ५२ मिनेट ०९ सेकेन्डमा दौड पूरा गरी सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ। उक्त प्रतियोगिताका विजेताहरूलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

यसैगरी महिला खुल्लातर्फ ओखलढुंगाकी लाक्पा निमा शेर्पाले १ घण्टा २ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पुरा गरेर प्रथम भईन उनले यस अगाडी एभरेस्ट म्याराथनमा पनि भाग लिएकी थिईन । प्रतियोगितामा सिन्धुपाल्चोककी नितु तामाङ दोस्रो, कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी एन्जिला जिटी तेस्रो तथा तनहुँकी सपना गुरुङले सान्त्वना स्थान प्राप्त गरेको बुझिएको छ। महिला तर्फका बिजेताहरुलाई पनि पुरुष सरह अर्थात क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

उक्त प्रतियोगिता अन्तर्गतको अर्को विधा पोखरा महानगरपालिकाको वडा न. १६ भित्रका धावकहरूको खुल्ला प्रतिस्पर्धामा महेन्द्र घर्ती मगर प्रथम, रविन्द्र घर्ती मगर दोस्रो, राजित बिश्वकर्माले तेस्रो तथा विशाल बिश्वकर्माले शान्त्वना स्थान प्राप्त गरेका थिए। सोहि वडा भित्रका महिलाहरुबिचको प्रतिष्पर्धामा सादगी शर्मा प्रथम, आइतिमाया घले दोस्रो, किर्ती गौतम तेस्रो र हेमादेवी छन्त्यालले सान्त्वना स्थान प्राप्त गरेका थिए। प्रथम स्थान प्राप्त गर्ने शर्मा कक्षा ६ मा तथा आइतिमाया १२ कक्षामा अध्ययनरत छिन। वडास्तरीय प्रतियोगिताका विजेताहरूलाई क्रमशः ८ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

बिगतको अर्मला गाबिस अन्तर्गतको गुरुङ बस्ति र हालको पोखरा महानगरपालिका- १६ अर्मलाकोटको मन्दिरमा हरेक बर्ष श्रीपञ्चमीको दिनमा बिशेष पुजा अर्चना हुने गरेको थियो।  प्रत्येक बर्षको श्रीपञ्चमीको दिन स्थानीय सिद्ध बराह (म्हउदु बराह)को पूजा गर्ने चलन रहेकोमा पुजा अर्चनासहित स्थानीय सर्बसाधारणको जमघट संगै ठेलो फाल्ने प्रतियोगिता हुने गरेको र त्यसपछि हरेक बर्ष भलिबल प्रतियोगिता हुने गरेको थियो।

अर्मलाकोटका स्थानीय बासिन्दा एबम पोखराको पृथ्वीनारायण क्याम्पसको खेलकुद विभागका प्रमुख जुमबहादुर गुरुङका अनुसार बजारमा बसोबास गर्न थालेका अर्मलाकोटका बासिन्दाहरु पनि श्रीपंचमीको दिन पुजाआजा गर्न र ठेलो फाल्न साथै भलिबल खेल्न गाउँ पुग्न थालेपछि अर्मलाकोटको प्रबर्द्दन गर्ने अर्को इभेन्ट्सको रुपमा पोखराबाट सोहि स्थानसम्मको लागि पर्वतीय दौड प्रतियोगिता गर्न लागिएको हो।  प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका धावकहरुको उत्साहजनक सहभागिता रहेको र बर्षेनी प्रतियोगीहरुको संख्या बढ्दै गएको उनले बताए।

लामो समयदेखि ठेलो फाल्ने र भलिबल प्रतियोगिता संचालन हुँदै आएकोमा दौड प्रतियोगिता शुरु गरेको पनि एक दशक पुगिसकेको छ । शुरुवातका बर्षमा प्रतियोगिता संचालन गर्नको लागि प्राबिधिक एबम आर्थिक र भूगोलको समेत कठिनाई महशुस गरिएको थियो। तर पछिल्लो समय अर्मलाकोटबाट बेलायत लगायत अन्य स्थानमा बसोबास गर्न पुगेकोहरुले सहयोग गर्न लागेपछि केहि सहज भएको दौड कार्यक्रमका निर्देशक समेत रहेका जुमबहादुर गुरुङले गुरुकुल खबरलाई जानकारी दिए यस बर्ष अघिल्लो बर्षको भन्दा झन्डै दोब्बर अर्थात करिब २ सय जनाले दौडमा सहभागिता जनाएका थिए ।

पछिल्लो समय अर्मलाकोटबाट पोखरा बजारको बिभिन्न स्थानमा आएर बसोबास गर्ने महिला एबम पुरुषहरुले समेत दौड लगायतका प्रतियोगिता सम्पन्न गर्न महत्वपूर्ण सहयोग गर्दै आएको छन । यसपटक पनि दौड, भलिबल र ठेलो फाल्ने प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैया भन्दा बढी खर्च लागेको बताइएको छ भलिबल प्रतियोगितामा १३ तिम्ले भाग लिएकोमा मौजा युवा क्लबले अर्मला युवा क्लबलाई सोझो ३ सेटमा पराजित गरेको थियो।

भलिबल प्रतियोगितामा प्रथम र दोश्रो स्थान प्राप्त गर्नेलाई क्रमश ५५ हजार र ३५ हजार रुपैया पुरस्कार दिइएको थियो  यसैगरी ठेलो फाल्ने प्रतियोगितामा १२ मिटर २० सेन्टिमिटर दुरीमा ठेलो फालेर वृत्तसिंह थापाले प्रथम पुरस्कार बापत २० हजार र दोश्रो स्थान प्राप्त गर्नेले १० हजार रुपैया पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताका बिजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एबम अर्मलाकोटबाट युकेमा बसोबास गर्दै आएका सहयोगदाता गुमानसिंह गुरुङ र जितबहादुर गुरुङको साथै अर्मलाकोट जन्मिएका नेपाल भूतपूर्व खेलाडी मंचका अध्यक्ष दिलबहादुर गुरुङ, मंचका पुर्व अध्यक्ष तेजबहादुर गुरुङ, एनआरएन युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति तथा नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष गंगाधर पराजुली, समाजसेवी इन्द्रबहादुर गुरुङ, तेजबहादुर गुरुङ, स्थानीय संयोजक गंगाबहादुर गुरुङ र पोखरा -१६ का वडा सदस्य लगायतले विजयीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

अर्मलाकोट गुरुङ जातीको पुरानो बस्ति भएपनि आजकल उक्त गाउँमा बस्ने मानिसहरुको संख्या भने निकै कम छ। अधिकांश घर खालि रहेको र यस किसिमको गतिबिधि वा मेला महोत्सबको अबसर पारेर सर्बसाधारणहरु गाउँमा पुग्ने गरेको छन । धार्मिक एबम पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न सकिने पोखराको नजिकको गाउँ भएर पनि पुर्वाधारको हिसाबले अर्मलाकोट अझै पछाडी परेको संचारकर्मी राजबहादुर गुरुङले बताए।

कार्यक्रमको समापनका अबसरमा दौड प्रतियोगिताका डाइरेक्टर जुमप्रसाद गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने अर्मला विकास मंच सहित विभिन्न संघ–संस्था, आमा समूह, अर्मला युथ क्लब साथै बेलायतमा बसोबास गर्ने अर्मलाका व्यक्तित्वहरुप्रति आभार प्रकट गरेका थिए।

तस्बिर – टंकराज अधिकारी

९ माघ २०८२, शुक्रबार २१:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा