पोखरा, नेपाली कांग्रेसको झन्डै दुई महिनासम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनको सन्दर्भमा गरेको निर्णय कार्यान्वयनमा ढिलाई भएको छ। नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्नेगरी सर्वसम्मत रुपमा कार्यतालिका पारित गरेको थियो । बैठकले पारित गरेको कार्यतालिका अनुसार पार्टीको केन्द्रबाट मंसिर २० गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने उल्लेख छ । तर मंगलबार मंसिर २३ गतेसम्म देशका बिभिन्न १९ प्रतिनिधि निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम समेत पुग्न सकेको छैन
‘अझै १९ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पठाउन बाँकी छ । पठाउने प्रयासमा हामी छौँ,’ पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले भनेका छन उनि पार्टीका महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य समेत हुन । उनका अनुसार १४ जिल्लाका १९ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फारम अझै पुग्न सकेको छैन ।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको ताप्लेजुङ, झापाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, ३, ४ र ५, मोरङको क्षेत्र नम्बर ३, खोटाङमा क्रियाशील सदस्यताको फाराम नपुगेको समितिले जनाएको छ । त्यस्तै सप्तरीको क्षेत्र नम्बर ३, सिरहाको क्षेत्र नम्बर ४, रौतहटको क्षेत्र नम्बर ३, बाराको क्षेत्र नम्बर २ र ४, पर्साको क्षेत्र नम्बर १ मा फाराम पुगेको छैन । रामेछाप, मुस्ताङ, नवलपुरको क्षेत्र नम्बर १ र २, स्याङ्जा क्षेत्र नम्बर १ तथा डोल्पा र जुम्लामा क्रियाशील सदस्यताको फारम पुगेको छैन ।
त्यस्तै केन्द्रीय समितिले पारित गरेको कार्यतालिकामा मंसिर २४ गतेसम्म प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउने अवधि तोकेको थियो । त्यो काम पनि अहिलेसम्म पूरा हुन नसकेको चौधरीले बताए । त्यो कार्यलाई अन्तिम रूप दिन आफूहरू निरन्तर बैठकमा नै रहेको चौधरीको भनाइ छ ।
यसैबीच, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काका साथै महामनत्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणको सम्बन्धमा भैरहेको प्रगतिका बारेमा पार्टीका जिल्ला सभापतिहरूसँग भर्चुअल संवाद गर्ने भएका छन् । बुधबार बिहान ८ बजेदेखि ७७ वटै जिल्ला सभापतिसँग महाधिवेशनका सन्दर्भमा कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा र शर्माले भर्चुअल संवाद गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘महाधिवेशनका सन्दर्भमा कार्यवाहक सभापति र महामन्त्रीहरूले जिल्ला सभापतिहरूसँग गर्ने भर्चुअल संवादमा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणबारे कुराकानी हुनेछ । त्यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसबारे पनि कुराकानी हुने बताइएको छ ।



















