काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनमा परी अहिलेसम्म ३० जनाको मृत्यु भएको र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु भएको र एक हजार ६१ जनाको उपचार भएको छ । उनले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको जानकारी दिए । यो सङ्ख्या जेनजी पुस्ताको नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको घटनाको हो ।
निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना र भेरी अस्पतलालमा पाँचजना गरी ३० जनाको निधन भैसकेको छ ।
यस्तै, अहिले २७४ जना घाइतेको अस्पतालहरुमा भर्ना भएर उपचार भइरहेको छ । यस्तै ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गरिएको छ भने ७१९ जना उपचार पश्चात् घर फर्किसकेका छन् ।
सचिव डा देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।
सबभन्दा धेरै निजामती कर्मचारी अस्पतालमा ४३६ जना, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जना घाइतेको उपचार भएको बुझिएको छ ।




















