पोखरा, नेपाली काँग्रेसबाट गण्डकी प्रदेशसभाको सदस्य रहेकी बहिरा अपाङ्ग सुनीता थापा आगामी साउनको पहिलो साता अमेरिकामा हुने डिफ नेसन वर्ल्ड एक्स्पोमा बक्ताको रुपमा सहभागी हुने भएकी छन। आगामी साउन ६ देखि ८ गतेसम्म अर्थात् जुलाई २२ देखि २४ सम्म अमेरिकाको लस भेगासमा आयोजित डिफ नेसन एक्पोमा उनि प्यानालिस्टको रुपमा सहभागी हुने भएको बुझिएको छ ।
यस किसिमको कार्यक्रम बिगतमा पनि हुने गरेको र विश्वका विभिन्न मुलुकबाट समेत ठुलो संख्यामा सहभागिता रहँदै आएको छ। एक्स्पोमा बहिरा अपांगताको क्षेत्रमा आएका नयाँ प्रविधिहरुको साथै उनीहरुको लागि आबश्यक पर्ने शिक्षा, रोजगारी, यात्रा, वित्तीय सेवा सम्बन्धी जानकारी दिन अन्तर्राष्ट्रिय संघ–संस्थाहरूको सहभागिता रहनेछ।
यसैगरी एक्स्पोमा विभिन्न मञ्चीय कार्यक्रमहरू समेत गरिने छ। जसमा बहिरा कलाकारहरूद्वारा नृत्य, हास्य अभिनय, र नाट्य प्रस्तुति गरिनेछ । यसबाहेक श्रव्य बिनाको दृश्यात्मक संगीतमय कला समेत त्यहाँ प्रस्तुत गरिने र विभिन्न अन्तर्राष्ट्रिय भाषाहरूमा सांकेतिक कविता, अन्तराष्ट्रिय गोष्ठी र कार्यशाला, बहिराहरुको अधिकार, नेतृत्व, शिक्षा, उद्यमशीलता, मानसिक स्वास्थ्य आदिबारे शिक्षक, सामाजिक कार्यकर्ता, र बाहिरा नेता द्वारा प्रशिक्षण समेत एक्स्पोमा संचालन गरिने छ।
बहिरा अपांगता भएका युवाहरूका लागि करियर मार्गदर्शन कार्यक्रमहरू र उनिहरुको सञ्जाल निर्माण गर्ने, विश्वभरिका बहिरा समुदायका सदस्यहरूबीच भेटघाट गर्ने एबम यस क्षेत्रमा कार्यरत बिभिन्न पेशेवर संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क भई भाषिक एबम सांस्कृतिक आदान–प्रदान गर्ने लक्ष पनि एक्स्पोले लिएको आयोजकले जनाएको छन।
एक्स्पोमा बहिरा कलाकारका चित्र, हस्तकला, र डिजाईनको बिक्रि वितरण, बहिरा उद्यमीहरुले संचालन गरेका उद्योग व्यवसायको प्रबर्द्दन, बालबालिकाका लागि सिर्जनात्मक खेलकुद, युवाहरूका लागि नेतृत्व र रोचक कार्यशाला, बिभिन्न देशका बहिरा समुदायद्वारा सांस्कृतिक प्रदर्शनी र सांकेतिक भाषा विविधताको आदान–प्रदान समेत हुनेछ। यसका लागि दुई सय भन्दा बढी स्टल र बिभिन्न बिषयमा छलफल गर्ने सेसन राखिएको बुझिएको छ।
नेपालबाट सहभागी हुने बहिरा अपांगता भएकी प्रदेश सांसद सुनिता थापाले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार यो सम्मेलन श्रवण शक्ति नभएका व्यक्तिहरूका लागि विश्वकै सबैभन्दा ठूलो खुला सम्मेलन मानिन्छ। सम्मेलनमा १ सय ३० देशका प्रतिनिधिहरू, अभियन्ता, संस्थाहरू र बहिरा समुदायका सदस्यहरू गरि हजारौको सहभागिता रहने गर्दछ ।
यस अगाडी भएका यस किसिमका कार्यक्रममा पनि हजारौंको सहभागिता रहने गरेको आयोजकलाई उधृत गर्दै प्रदेश सांसद थापाले बताइन। उनले उपलब्ध गराएको जानकारी अनुसार सन् २०१० मा करिब २४ हजार, २०१२ मा करिब २५ हजार, २०१६ मा करिब १७ हजार र २०२२ मा करिब १६ हजार जना अनौठा आगन्तुकहरुको सहभागिता रहेको थियो।
यसैबीच यस किसिमको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन् पाउनु आफ्नो लागि मात्र नभएर नेपाली बाहिर अपांगता भएकाहरुको लागि समेत गर्वको विषय भएको थापाले उल्लेख गरेकी छन् । ‘नेपाल र बहिरा समुदायको प्रतिनिधित्व गर्ने यो अवसर दिएकोमा आयोजक जोएल बारिश र सम्पूर्ण बहिरा राष्ट्र समूहप्रति म आभारी छु,’ थापाले भनिन ।
यसैबीच लस भेगासको कार्यक्रम सकिएपछि थापाले अमेरिकाको न्युयोर्कमा अमेरिकाका नयाँ बहिराहरुको लागि हुने अनुभवका आधारमा हुने सिकाई अवसर र अभ्यास सम्बन्धि शिबिर कार्यक्रममा पनि सहभागी हुने भएकी छन। अगस्त १ देखि ३ गतेसम्म हुने उक्त शिबिरको आयोजना गरिएको छ ।