बैतडी, गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय बैतडीको निरीक्षण गरेका छन् । लेखकले शनिबार बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गर्नुभएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
निरीक्षणका क्रममा लेखकले जिप्रका लगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्ति सुरक्षाका अवस्थामा जानकारी लिएका छन् ।
गृहमन्त्री लेखकलाई भवनको अभाव लगायत विभिन्न विषयमा जानकारी गराइएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । उनले भने, ‘जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र ब्यारेक भवन निर्माणको लागि आवश्यक बजेट व्यवस्था गरिदिन पहलका लागि आग्रह गरेका छौँ ।’
जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माण बजेटको व्यवस्था गर्ने बताएका छन् । गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्ति सुरक्षाका बारेमा पनि जानकारी लिए ।
गृहमन्त्री लेखकले शनिबार बिहान नै स्थानीय जगन्नाथ मन्दिरमा दर्शन गरेका छन् । गृहमन्त्री लेखक शनिबार नै बैतडीबाट फिर्ता हुने कार्यक्रम रहेको बुझिएको छ ।