पोखरा, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री समेत रहेका समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको ८९ वर्षको उमेरमा निधन भएको भन्दै गहिरो दुख ब्यक्त गरेको छ । बैठकले शास्त्रीको निधनबाट नेपाली कांग्रेसले एक वौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको भन्दै नेपाली कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा वहाँको योगदान, प्रजातन्त्रप्रतिको प्रतिवद्धता, समाजवादी विचारको प्रबर्दन तथा पार्टीका विभिन्न महत्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उहाँले निर्वाह गर्नुभएको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाएको छ।
विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका शास्त्रीले प्रजातन्त्र पुनस्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा समेत जीवन बिताएको नेपाली काँग्रेसले उल्लेख गरेको छ। जननायक बी.पी. कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत रहेका शास्त्री अर्घाखाँची जिल्लाको किमडाडामा वि.सं. १९९३ जेठ २५ गते जन्मिएको र पटक–पटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
नेता शास्त्रीको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको बैठकमा एक मिनेट मौन धारण गरिएको जानकारी दिंदै नेपाली कांग्रसका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको जानकारी गुरुकुल खबरलाई दिएका छन।