पोखरा, पोखरामा आयोजित गण्डकी कोटिहोमकोका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीले गण्डकी काेटिहाेम ज्ञान महायज्ञमा भएको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने जिम्मेवारी मानव सेवा फाउन्डेसनकाे भएको स्पष्ट पारेका छन। महायज्ञमा करीब १० करोड रुपैया नगद र केहि जिन्सी सहित करिब ४० रोपनी जग्गा दान बापत प्राप्त भएको भएपनि महायज्ञको संचालन खर्च भने अझै एकिन भैसकेको छैन ।
महायज्ञको संचालनमा २५/३० करोड रुपैयाभन्दा बढी खर्च भएको बताइएपनि आम्दानि करिब १० करोड मात्र भएपछि यस बारेमा विभिन्न प्रश्न समेत उठ्न थालेका छन। अब महायज्ञ आयोजकले महायज्ञ संचालनको क्रममा भएको खर्चको ब्यबस्थापन कसरी गर्लान त भन्ने प्रश्न उठ्दै गरेको बेला महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्तीले महायज्ञ संचालनका क्रममा पोखरा क्षेत्रमा भएको सम्पूर्ण खर्चको जिम्मेवारी मानव सेवा फाउन्डेसनको भएको स्पष्ट पारेका छन।
उनले महायज्ञ संचालनको क्रममा भएको आर्थिक कारोबारको करिब ९० प्रतिशत हिसाब मिलिसकेको समेत दाबि गरेका छन । उनले सामाजिक संजालमार्फत पोखरामा कोहि कसैले महायज्ञ संचालनका क्रममा गरेको खर्चको हिसाब चुक्ता गर्नुपर्ने भए यहि शुक्रबारसम्ममा मानव सेवा फाउन्डेसनको पोखरास्थित कार्यालयमा र असर १० गतेसम्म काठमाडौँ कार्यालयमा बिल सहित भुक्तानी दाबी गर्न आउन उनले आग्रह गरेका छन ।
यसैबीच पोखरामा आयोजित गण्डकी कोटिहोमलाई ऐतिहासिक रूपमा सफल पार्न सहयोग सबैप्रति आभार प्रकट गरेका छन। कोटीहोम स्थल नाजिकका आमसर्बसाधारणको सेवाभाव, त्याग, आतिथ्यता, समर्पण र सहकार्यले आफुहरुलाई उर्जा मिलेको भन्दै उनले कोटीहोमको सफलताको मूल आधार स्थानीय भक्तजन भएको उल्लेख गरेका छन।
कोटीहोम महायज्ञ एउटा कार्यक्रम मात्र नभएर धर्मलहरको संकल्प समेत हो भन्दै उनले गण्डकी क्षेत्रको वक्षस्थलमा गुञ्जिएको मन्त्र–ध्वनि, उडेको धुप–धूवाँ, जलेको समिधा र बजेको डमरुको ताल सबैमा स्थानीय भक्तजनको आँशु, पसिना र आस्था मिसिएको र यहि नै यज्ञको सफलताको मेरुदण्ड भएको उनले उल्लेख गरेका छन।
यसैगरी उनले गण्डकी कोटिहोमलाई सफल, सुव्यवस्थित र गरिमामय बनाउने साझा प्रयत्नमा निरन्तर साथ् र सहयोग अनि हौसला दिनेविभिन्न धार्मिक संघ, संस्थाको साथै विभिन्न तहको सरकार, सुरक्षा निकाय, विभिन्न स्वास्थ्य संस्थाहरु सहित बिभिन्न सरकारी एबम गैरसरकारी संस्था प्रति समेत उनले आभार प्रकट गरे।
उनले कोटिहोमजस्तो युगप्रेरक यज्ञयात्रालाई देश विदेशमा रहेका लाखौं श्रद्धालु भक्तजनहरूसम्म सजीव रूपले पुर्याउने र गण्डकी क्षेत्रको पवित्र भूमिबाट उठेको मन्त्र–ध्वनिलाई विश्वभर गुञ्जाइदिने संचारकर्मीहरुमा पनि आभार प्रकट गरेका छन ।मोबाइल स्क्रिनमा, टेलिभिजन सेटमा, सामाजिक सञ्जालका भित्ताहरूमा गुञ्जिएको कोटिहोमको छवि संचारकर्मीहरुको अथक मेहनतको प्रतिफल रहेको उनले उल्लेख गरेका छन।
जेष्ठ ३१ गते कोटीहोम समापन भए लगत्तै मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेका विजय कृष्णमुर्ती सोमबार नै पोखरा फर्किसकेको र केहि दिन पोखरामा नै रहने बुझिएको छ मुक्तिनाथ दर्शन गर्न जाने क्रममा उनिसंगै भागवत मन्जरी राधिका दासी समेत मुक्तिनाथ मन्दिरको दर्शन गर्न गएकी थिईन बिजय कृष्ण मुर्ती र राधिका सहितको टोलीले मुक्तिनाथ मन्दिर संगै बाग्लुंग कालिका भगवती मन्दिरमा समत दर्शन र पुजा आज्ञा गरेका थिए । बाग्लुंग, म्याग्दी र मुस्तांग जिल्लाका सुरक्षा एबम प्रसासनिक अधिकारीहरु सहित आम सर्बसाधारणसंग पनि उनीहरुले भेटघाट गरेका थिए ।