पोखरा, पोखरामा आयोजित शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको मूल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले पोखरामा सम्पन्न कोटीहोमलाई जिबन्त राख्न र भावी सन्ततिले समेत सहज रुपमा कोटीहोमबारेमा जानकारी पाउन सक्ने किसिमले कोटीहोम स्थलको संरक्षण र अभिलेखीकरण गर्न सरोकारवाला संस्थालाई आग्रह गरेका छन।
कोटीहोम भएको स्थान संरक्षण हुनसके मात्र ऐतिहासिक भनेर आयोजना गरिएको कोटीहोमको धार्मिक एबम ऐतिहासिक महत्व जोगाउन र भाबी पुस्तालाई गण्डकी कोटीहोमको बारेमा जानकारी गराउन सकिने भन्दै सहसंयोजक पराजुलीले पोखरा -१७ का स्थानीय बासिन्दा र महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्ती सहित मानव सेवा फाउन्डेसनलाई त्यस किसिमको आग्रह गरेका हुन।
कोटीहोम बिराट ज्ञानमहायज्ञमा शुक्रबारसम्ममा करिब ९ करोड रुपैया नगद र पोखरा लगायत विभिन्न स्थानबाट करिब ४० रोपनी जग्गा दान स्वरूप प्राप्त भएको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीले गराएका थिए । शनिबार संकलित रकम र केहि व्यक्ति र संस्थाबाट प्रतिबद्दता गरिएको रकम समेत गर्दा करिब १० करोड पुग्नसक्ने अनुमान आयोजकले गरेका छन। यसका साथै अन्य जिन्सी सामग्री समेत संकलन भएको मानव सेवा फाउन्डेसनले जनाएको छ।
यसरि संकलित रकम सहित खर्चको विवरण सार्बजनिक गर्न, संकलित रकमको दुरुपयोग हुन नदिन र संकलित रकम पहिले प्रतिबद्दता गरिए अनुसारका काममा खर्च गर्नुपर्ने कुरामा महायज्ञ मूल आयोजक समितिका सहसंयोजक पराजुलीले जोड दिएका छन। महायज्ञ समापनको दिन आयोजित बिशेष धार्मिक सभामा आयोजक समितिको तर्फबाट बोल्दै सहसंयोजक पराजुलीले विषम परिस्थितिको बिचमा गरिएको कोटीहोममा ३० लाख भन्दा बढी सर्बसाधारण र भक्तजनको सहभागिता रहनु र करोडौं रुपैया नगद सहित करोडौं मूल्य पर्ने जग्ग्गा दान स्वरूप प्राप्त हुनुलाई महायज्ञको अपार सफलताको रुपमा ब्याख्या गरे।
उनले भने, “महायज्ञमा लाखौं सर्बसाधारण एबम भक्तजनको सहभागिता हुनु, करोडौं रुपैया सहित दर्जनौं रोपनी जग्गा दान हुनु र विभिन्न किसिमको जिन्सी सहयोग जुट्नु चानचुने कुरा हैन। यसले महायज्ञ प्रति पोखरेली सहित गण्डकी प्रदेशका बासिन्दाको अपार समर्थन रहेको पुष्टि भएको छ। “महायज्ञको पुर्ब निर्धारित स्थान परिबर्तन हुँदा, महायज्ञको प्रभावकारी ब्यबस्थापन गर्दा र विभिन्न किसिमका प्रतियोगिता र सम्मान जस्ता कार्यक्रम सहित महायज्ञ स्थलको साजसज्जा समेतका काममा मोटो रकम खर्च गरिएको महशुस मलाई पनि भएको छ तर विषम र प्रतिकुल परिस्थितिमा आयोजना गरिएको महायज्ञबाट जे जति संकलन भयो, जे जति भक्तजनहरु आउनुभयो, यो नै ठुलो र महत्वपुर्ण कुरा हो भन्ने मलाई लागेको छ।” पराजुलीले भने ।
आँफु संचार र राजनीतिक क्षेत्रबाट समाजमा परिचित भएपनि यो महायज्ञमा सहभागी भएका कारण धार्मिक क्षेत्रमा समेत क्रियाशील रहने चाहना जागेको भन्दै उनले लाखौ मानिसको सहभागितामा महिनौं दिन चलेको यस किसिमको कार्यक्रममा कुनै पनि अप्रिय घटना नहुनु सबै पोखरेलीको लागि सुखद पक्ष रहेको जनाए।
“पोखरा भ्रमण बर्षको घोषणा गर्न भनि आयोजना गरिएको छोटो समयको कार्यक्रममा बेलुन पड्किएर संघिय सरकारका मन्त्री र पोखरा महानगरका प्रमुख समेत घाइते हुने गरि दुखद घटना भयो, तर लाखौँ भक्तजनको सहभागितामा महिनौसम्म संचालन भएको कोटीहोम कार्यक्रम कुनै बिघ्न बाधा र दैबीबिपत्ति बिना सहजता पुर्बक सम्पन्न हुन सक्यो। यो पोखरेलीहरुको लागि गौरबको कुरा मात्र नभएर भगवानको कृपा समेत हो भन्ने मलाई लागेको छ” नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत रहेर काम गरिसकेका पराजुलीले भने।
उनले पोखरामा आयोजित कोटीहोम महायज्ञका कारण सनातन धर्म र संस्कृति सम्बन्धमा धार्मिक जागरण र चेतना जागृत भएको, पोखरामा धार्मिक एबम अन्य पर्यटकहरुलाई भित्र्याउने गरि पोखराको प्रबर्दन भएको, जस्तो सुकै कठिन परिस्थितिमा पनि पोखरेली सर्बसाधारणहरुको सहयोग र समर्थन प्राप्त हुन्छ भन्ने सन्देश फैलिएको, पोखराको आर्थिक गतिबिधि चलायमान भएको र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु र संघसंस्थाले सम्मानित भएको महशुस गरेको साथै वक्तृत्वकला र भजन प्रतियोगिता सहित भजनकृतन र प्रवचनजस्ता कार्यक्रमका कारण थुप्रै व्यक्तित्वहरुको प्रतिभा उजागर हुनपुगेको स्पष्ट पारे।
बिधिसम्मत तरिकाले पोखरामा आयोजना हुने कार्यक्रममा पोखरेली संघसंस्था र सरकारको समेत सहयोग हुनुपर्ने खाँचो औंल्याउदै सहसंयोजक पराजुलीले भने, “कोटीहोमको शुरुवातसंगै अनेकन बजारहल्ला चलाइयो, महायज्ञ शुरु हुन सक्दैन, शुरु भएपनि कोहि मान्छे वा भक्तजन आउँदैनन्, अनि महायज्ञको बिचमा नै आयोजकहरु पोखरा छोडेर बाहिरिन्छन र केहि स्वार्थ पुरा गर्न चाहनेहरु मात्र आर्थिक लाभ लिएर महायज्ञको समितिमा बसेको छन भन्ने जस्ता बजारहल्लाहरु समेत धेरैबाट चलाइयो तर म स्पष्ट पार्न चाहन्छु, समितिमा रहने म सहितका अधिकांश साथीहरुले आफ्नो समय मात्र नभएर आर्थिक रुपमा पनि महायज्ञलाई सहयोग गरेका छौं।
कोटीहोम पोखराको प्रबर्दन गर्न, सनातन धर्म र संस्कृति सम्बन्धि धार्मिक एबम आध्यात्मिक जागरण फैलाउन सहयोगी बन्ने महशुस भएकोले नै आँफु आयोजक समितिमा जोडिएको उनले स्पष्ट पारे। मैले महायज्ञ आयोजक समितिको जिम्मेवारी नलिंदा पनि नागरिक समाज, राजनीतिक दल र जनप्रतिनिधि सहित बिभिन्न क्षेत्रका व्यक्तित्वहरु समक्ष यस किसिमको धार्मिक अनुष्ठानलाई बिबादित बनाएर अबरोध गर्नु उपयुक्त नहुने, बरु ब्यबस्थित र विधिसम्मत रुपमा गर्न लगाउनुपर्ने भन्ने धारणा राख्दै आएको थिए। उनले भने, “शुरुवातमा महायज्ञको बिरोध गर्नेहरु पनि पछिल्लो समय महायज्ञको सहयोगी बन्न पुगे, पोखरा महानगरपालिकाले पनि महायज्ञ संचालन भएपछि सहयोगी भूमिका निर्बाह गरेको र समयाबधि थप गर्न सहज ढंगले अनुमति दिएको भन्दै उनले खुसी प्रकट गरे”
महायज्ञको समापनका अबसरमा बोल्दै महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्तीले महायज्ञमा संकलित रकम अनाथ बालबालिकाको आश्रम निर्माण सहित पोखराका केहि धार्मिक स्थल र मठ मन्दिरको लागि पहिले गरिएको प्रतिबद्दता अनुसार नै खर्च गरिने स्पष्ट पारे। महायज्ञमा केहि दाताहरुले प्रतिबद्दता गरे अनुसारको रकम संकलन हुन बाँकी रहेको र खर्चको पनि सम्पूर्ण विवरण आउन बाँकी रहेकोले असार महिनासम्ममा कोटीहोम महायज्ञको आम्दानी खर्चको विवरण सार्बजनिक गरिने उनले सुनाए। संकलित रकमको दुरुपयोग हुनेमा शंका नगर्न आग्रह गर्दै उनले पूर्व प्रतिबद्दता अनुसार नै रकम खर्च हुने स्पष्ट पारे।
उनले महायज्ञमा सहयोग र समर्थन गर्ने पोखरेली सहित सबै प्रति आभार प्रकट गर्दै नेपाल र बाहिरबाट धर्मगुरुहरु र प्रशिद्द कथाबाचकहरु आएर प्रवचन र आशिर्बचन दिएकोले मात्र नभएर १ सय वटा कुण्डमा गरिएको करोडौं हवन सहित अन्य धार्मिक अनुष्ठानबाट हजारौँ पोखरेलीहरु लाभान्वित बनेको बताए । आगामी दिनमा देशका अन्य स्थानमा हुने महायज्ञमा पनि सबैको सहयोग र समर्थनको उनले अपेक्षा गरे।
कार्यक्रममा महायज्ञका निर्देशक शंकर खराल र सह निर्देशक युबक लामिछाने सहितका बक्ताले पोखरामा आयोजित कोटीहोम अपेक्षा गरिएभन्दा सफल भएको भन्दै संकलित रकम दाताहरुको चाहना र भावना अनुसारनै खर्च गरिनुपर्नेमा जोड दिएका थिए। महायज्ञको समापनको दिन शनिबार महायज्ञ मूल आयोजक समितिमा रहेर विभिन्न भूमिका निर्बाह गरेकाहरु सहित बिभिन्न किसिमबाट सहयोग गरेका हरुलाई सम्मान गरिएको थियो ।
महायज्ञमा कथाबाचकको रुपमा रहेकी भागवत मन्जरी राधिका दासीलाइ पनि शनिबार नै बिदाई गरिएको थियो महायज्ञमा देबी प्रतिभा, पण्डित दिनबन्धु पोखरेल, सुप्रिया किशोरी, अनुराधा पाण्डे लगायतले कथाबाचन गरेका थिए भने विभिन्न कलाकारहरुले भजन कृतन प्रस्तुत गरेका थिए । महायज्ञबाट बिदाई हुनु अगाडी राधिका दाशीले महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्तीको खुलेर प्रशंसा गर्दै उनलाई जन्म दिनको शुभकामना सहित उपहार प्रदान गरेकी थिइन् । यसैगरी महायज्ञका संकल्पकर्ता बिजय कृष्ण मुर्तीले पनि भागवत मन्जरी राधिका दासीलाई उपहार दिएर बिदाइ गरेका थिए ।